गुजरातको पटाका गोदाममा भीषण विस्फोट, एकै परिवारका ८ जनासहित १७ जनाको मृत्यु, ५ घाइते
नयाँदिल्ली, १९ चैत । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ।
मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए। प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो।
पटाका भण्डारणमा गरिएको स्थानमा विस्फोट हुँदा एकै परिवारका चार बालबािलकासहित ८ जनाको मृत्यु भएको हो । घटना हुँदा परिवारका एघार सदस्यमध्ये तीन जना घर बाहिर रहेको प्रहरीले जनाएको छ।
तीनजना बाहेक अरू सबैको मृत्यु भएको र व्यवसायमा संलग्न दाजुभाई चन्द्रकान्त बनिक र तुषार बनिकविरुद्ध प्रहरीले गैरजमानती धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ । प्रहरीले दुवै दाजुभाइसँग पटाका व्यवसायको लागि इजाजतपत्र रहेको बताएको छ ।
मृत्यु हुनेमा चन्द्रकान्त र तुषारका बुबा अरविन्द बनिक (६५), हजुरआमा प्रभावती बनिक (८०), चन्द्रकान्तकी श्रीमती सन्तवाना बनिक (२८), छोरा अर्णव बनिक (९), छोरी अस्मिता वनिक (८ महिना), तुषारकी छोरी अनुष्का बनिक (६ महिना) र छोरा अंकित बनिक (६ महिना) रहेका छन् ।
विस्फोटको समयमा दुइ दाजुभाई र आमा घरबाहिर रहेको र तुषारकी श्रीमती रूपाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन। हाल उद्दार कार्य जारी छ।
प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ।
भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
















