ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्न सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ।

यस सुविधा अन्तर्गत नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।

बैंकका अनुसार १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्। खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ।

यस व्यवस्थाले व्यक्तिगत विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा सुनिश्चित हुने बैंकले जनाएको छ।

नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

बैंकका अनुसार यो सेवाले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्नेछ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई अझ सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।

ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंकका रूपमा परिचित छ। बैंकले ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा तथा एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार