झापाका ७० प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
झापा । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति झापाका नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ सम्ममा जिल्लाको कुल जनसङ्ख्याको ६९.६७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भइसकेको बताइएको छ । स्वास्थ्य बिमा गर्नेमा झापा सबैभन्दा अगाडि रहेको छ ।
आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ सम्म ६,९५, ३७५ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालयकी संयोजक लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।
तथ्याङ्क अनुसार यस जिल्लामा सबैभन्दा बढी दमक नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराएको देखिन्छ । दमकमा एक लाख ११ हजार ८० नागरिकले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम झापा गाउँपालिकामा १४,९७४ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको कँडेलको भनाइ छ ।
यसैबीच ‘सबै नागरिकको स्वास्थ्य बिमामा सहभागिता, सुरक्षित र स्वास्थ्य भविष्यको सुनिश्चितता’ भन्ने मूल नाराका साथ हिजो झापामा नवौं स्वास्थ्य बिमा दिवस मनाइएको थियो ।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
















