चीनमा पहिलो पटक ह्युमनोइड रोबोटले मान्छेसँगै हाफ–म्याराथन गरे पूरा !



एजेन्सी । शनिबार बेइजिङमा भएको यिज्ह्वाङ हाफ-म्याराथनमा २१ ह्युमनोइड रोबोटले हजारौं धावकहरूसँगै दौडमा भाग लिएका छन् ।

रोबोटले २१ किलोमिटरको दूरीको दौडमा मान्छेहरूसँगै भाग लिएको यो पहिलो पटक हो ।

ह्युमनोइड रोबोटहरूले विगत एक वर्षमा चीनमा म्याराथनमा भाग लिए पनि मानिसहरूसँगै दौडेको भने यो पहिलो पटक हो।

सो हाफ-म्याराथनमा भाग लिने रोबोटमध्ये केही चार फिट भन्दा होचा थिए भने केही छ फिटसम्म अग्ला थिए।

तीमध्ये एक नारीसुलभ विशेषताहरू भएको मानवजस्तै देखिने र आँखा झिम्काउने र मुस्कुराउने क्षमता सहितको भनेर सो रोबोटको निर्माता कम्पनीले दाबी गर्‍यो।

हाफ-म्याराथनमा भाग लिनका लागि कम्पनीहरूले रोबोटको हप्तौंसम्म परीक्षण गरेका थिए।

रोबोटलाई दौडमा भाग लिन इन्जिनियरिङ र नेभिगेसन टोलीको आवश्यकता पर्ने भएकाले कतिले मोटर रेसिङसँग तुलना गरेका छन्।

रोबोटहरूसँग मानव प्रशिक्षकहरू पनि थिए। जसमध्ये केहीले दौडको क्रममा ती मेसिनहरूलाई शारीरिक रूपमा सहारा दिनुपर्‍यो।

केही रोबोटहरूले दौडने जुत्ता लगाएका थिए, एकले बक्सिङ ग्लोभ्स लगाएको थियो भने अर्कोले चिनियाँ भाषामा ‘पक्कै जित्ने’ लेखिएको रातो हेडब्यान्ड लगाएको थियो।

सो हाफ-म्याराथनमा भाग लिएका २१ ह्युमनोइड रोबोटमध्ये ६ वटाले २१ किलोमिटरको दूरी पुरा गरेको थिए।

बेइजिङ इनोभेसन सेन्टर अफ ह्युमन रोबोटिक्सले बनाएको टियानगोङ अल्ट्रा नाम गरेको रोबोटले ह्युमनोइडतर्फको प्रतिस्पर्धा जितेको थियो।

उसले २ घन्टा ४० मिनेटमा सो दौड पूरा गर्‍यो। पुरूष विजेताको समय १ घन्टा २ मिनेट थियो।

सो कम्पनीमा दुई सरकारी स्वामित्वका संस्थाहरूको ४३ प्रतिशत स्वामित्व, अनि बाँकीमा शाओमीको रोबोटिक्स शाखा र अग्रणी चिनियाँ ह्युमनोइड रोबोट फर्म युबीटेकको बराबर हिस्सा छ।

रोबोटिक्स सेन्टरका प्रमुख प्रविधि अधिकारी ट्याङ जियानले लामो खुट्टा र मानिसले म्याराथन दौडने तरिकालाई नक्कल गर्ने एल्गोरिदमको सहयोगले टियानगोङ अल्ट्राले सो दौड जितेको बताए।

‘म घमन्ड गर्न चाहन्न, तर पश्चिममा कुनै पनि रोबोटिक्स फर्मले टियानगोङको खेल उपलब्धिहरूको बराबरी गर्न सकेको छैन’,ट्याङले भने।

दौडको क्रममा सो रोबोटको ब्याट्री तीन पटक फेरिएको जानकारी उनले दिए।

केही रोबोटहरूलाई भने सुरूदेखि नै मुस्किल भयो। एउटा सुरूमै लड्यो र केही मिनेटसम्म ढलिरह्यो। त्यसपछि उठेर दौडियो। अर्कोले केही मिटर दौडिएपछि रेलिङमा ठोक्किएर आफ्नो मानव सञ्चालकलाई लडायो।

चीन रोबोटिक्स र ह्युमनोइड दुवै बिधामा विश्वमा अग्रणी मानिन्छ।

आर्टिफिसियल इन्टेलिजेन्समा पनि अमेरिकालाई भेटाउन लागेकाले रोबोटको प्रयोग गरेर औद्योगिक उत्पादनमा चीनले आफ्नो अग्रता अझ बढाउन सक्ने मानिन्छ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्