आन्दोलनपछि शिक्षकहरू धमाधम एसइईको उत्तर पुस्तिका परीक्षण गर्दै



भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढेको छ । गत शुक्रबारदेखि नै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् ।

देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको बोर्डले जनाएको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन र शैक्षिक हडताल २९ औँ दिनमा वैशाख १७ गते अन्त्य गरेको थियो ।

त्यसपछि शुक्रबारदेखि नै कापी परीक्षणको काम थालिएको अध्यक्ष शर्माले बताए । कापी परीक्षणका लागि बोर्डले १५ दिनको समय निर्धारण गरेको थियो ।

कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने यकिन हुने उनको भनाइ छ ।

बोर्डले जिलास्थित शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरेर कापी परीक्षणका लागि थप शिक्षक परिचालन गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्