अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता



काठमाडौं । अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन्।

स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबीच वार्ता भएको थियो। छलफल पछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो।

बेसेन्टले वार्तालापलाई उत्पादक र रचनात्मक भनेर वर्णन गरे।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबीचको यो पहिलो बैठक हो।

ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएका थिए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ।

भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्याएपछि विश्वव्यापी मन्दीको डर बढाएको थियो।

अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिनको लागि ३० प्रतिशतमा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १० प्रतिशतमा घटाइनेछ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्