रोजगारमुखी गुणस्तरीय शिक्षामा जोड



गण्डकी, ३१ वैशाख । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजना निर्देशन समितिको संयुक्त बैठकका वक्ताहरूले व्यावासयिक र रोजगारमुखी शिक्षाको आवश्यकता औँल्याएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आज आयोजित बैठकमा उक्त मन्त्रालयका मन्त्री विन्दुकुमार थापाले युवालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

“युवालक्षित यी परियोजनाले सीप, दक्षता विकास र रोजगार सुनिश्चितताका लागि भूमिका खेल्नेछन्”, उहाँले भन्नुभयो, “गुणस्तरीय प्राविधिक तालिम र सीप विकासले वैदेशिक रोजगारीमा जाने, स्वरोजगारको सम्भावना खोज्ने तथा उद्यमशील बन्न चाहने युवालाई मद्दत गर्नेछ ।”

आगामी दिनमा शैक्षिक गुणस्तर वृद्धि, रोजगारी सृजनाजस्ता क्षेत्रमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप परीक्षण तथा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, स्तर निर्धारण एवम् प्रशिक्षक अनुमतिपत्र आदिको कार्यान्वयनमार्फत समृद्ध प्रदेश निर्माणको सङ्कल्प लिइएको छ ।

सामाजिक समावेशितालाई ध्यान दिँदै पहुँचबाट वञ्चित समुदायका लागि प्राविधिक शिक्षाका लागि छात्रवृतिलगायत आवासीय तालिम कार्यक्रम सञ्चालन गर्ने मन्त्री थापाले बताउनुभयो । स्वीस विकास सहकार्य (एसडीसी) का प्रमुख माथिएस मेयरले युवाको वृत्ति विकासमा गण्डकी प्रदेश सरकारले गरेको कामको प्रशंसा गर्नुभयो ।

उहाँले नीजि क्षेत्रसँग मिलेर साझेदारीमा गरेको कामलाई उदाहरणका रूपमा लिइएको बताउनुभयो । मन्त्रालयका सचिव नवराज ढकालले प्राविधिक र व्यावसायिक शिक्षलाई बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घ, गण्डकीका संस्थापक अध्यक्ष सञ्जीव कोइरालाले स्वीस सरकारले दिएको सहयोगलाई श्रमिक वर्गको सीप विकास र परीक्षणका लागि लागि खर्च गर्नुपर्ने बताउनुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले प्राविधिक सीपयुक्त शिक्षालाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्