आईएसआईलाई सहयोग गर्ने भारतीय चर्चित युट्युबर पक्राउ, भारतबाट निष्कासित पाकिस्तानीसँग डिनर



काठमाडौं । पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) लाई सहयोग गरेको आरोपमा भारतीय चर्चित ट्राभल भ्लगर ज्योति मल्होत्रा पक्राउ परेकी छन् ।

भारतीय प्रहरीले पाकिस्तानका लागि जासुसी गरेको आरोपमा ‘ट्राभल विथ जो’ नामक युट्युब च्यानल चलाउँदै आएकी ३३ वर्षीया मल्होत्रालाई दुई दिन अघि पक्राउ गरेको हो ।

हरियाणा प्रहरीको जासुस–विरोधी विभागले १६ मेमा मल्होत्रालाई हिसारको नयाँ अग्रसेन एक्सटेन्सनबाट पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) सँग संवेदनशील जानकारी साझा गरेको आरोप छ । अदालतले प्रहरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनले व्हाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत पाकिस्तानी उच्च आयोगका कर्मचारी एहसान उर रहिम उर्फ दानिशसँग गोप्य सम्पर्क राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

दानिश १३ मेमा जासुसीको आरोपमा भारतबाट निष्कासित भएका थिए ।

मल्होत्राको युट्युब च्यानलमा ‘इन्डियन गर्ल इन पाकिस्तान’, ‘इन्डियन गर्ल एक्सप्लोरिंग लाहोर’, ‘इन्डियन गर्ल एट कटास राज टेम्पल’ जस्ता भिडियोहरू अपलोड भएका छन्, जसलाई प्रहरीले उनको जासुसी गतिविधिको आवरण मानेको छ ।
भारत र पाकिस्तानबिच बढ्दो तनावको समयमा यो कारबाही गरिएको हो । २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो ।

त्यसपछि भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा आतंकवादी संरचनामाथि हमला गरेको थियो ।

जवाफमा पाकिस्तानले पनि भारतमाथि हमला गरेको थियो। तर अमेरिकी दबाबमा आएर दुवै देशले युद्धविराम गरेका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्