फिफा निलम्बन फुकुवा गर्न र एन्फा निर्वाचन गराउन २१ क्लबको माग



काठमाडौँ । डिभिजन फुटबलका २१ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको फिफा निलम्बनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। क्लबहरूले नेपाली फुटबललाई संकटबाट बाहिर निकाल्न तीन बुँदे मागसमेत अघि सारेका छन्।

शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गर्न, एन्फाको निर्वाचन यथाशीघ्र गराउन तथा रोकिएका सबै फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेका हुन्।

क्लबहरूले राष्ट्रिय लिग, महिला लिग, यू–१८ प्रतियोगितालगायत सम्पूर्ण फुटबल गतिविधि तत्काल सञ्चालन गर्नुपर्ने बताएका छन्।

विज्ञप्तिमा लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक तथा फुटबल क्षेत्रमा आबद्ध हजारौँ व्यक्तिको भविष्य अन्योलमा परेको उल्लेख गरिएको छ।

क्लबहरूले एन्फाको निलम्बन भएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकायबाट समस्या समाधानका लागि ठोस प्रक्रिया सुरु नभएकोप्रति असन्तुष्टि जनाएका छन्।

“एन्फा निलम्बन भएको यति लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस प्रक्रिया प्रारम्भ नभएको हुँदा नेपाली फुटबललाई व्यवस्थित गर्न हाम्रा मागहरू तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार