पोप लियो चौधौंद्वारा उद्घाटन समारोहमा ‘प्रकृति र गरिबीको शोषण रोक्न’ आह्वान



भ्याटिकन सिटी, ४ जेठ । पोप लियो चौधौंले आफ्नो ‘पप्यासी’को शुरुवातमा आइतबार आयोजित उद्घाटन समारोहमा ‘प्रकृति र गरिबको शोषण रोक्न’ विश्व समुदायसँग अपील गर्नुभएको छ ।

उहाँले आफ्नो अभिव्यक्तिमा भन्नुभयो, “हाम्रो समयमा धेरै विभाजन र घृणा छ, जुन आर्थिक सोचाइले पृथ्वीका स्रोतहरूको शोषण र गरिबीको उपेक्षामा योगदान पु¥याउँछ ।” विश्वभरका महत्वपूर्ण अतिथिहरूको उपस्थिति बीचमा उहाँले आफ्नो उद्घाटन प्रवचनमा शान्ति र न्यायका लागि चर्चको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिनुभयो ।

पोप लियो चौधौंले भन्नुभयो,“हामी सबैलाई एक अर्कासँग सद्भाव र समझदारीका साथ जीवन यापन गर्नको लागि एकजुट हुनुपर्ने आवश्यकता छ,“ साथै उहाँले युक्रेनको युद्धको अन्त्यका लागि प्रार्थना गर्दै, “युक्रेनी जनता न्यायपूर्ण र दीर्घकालीन शान्तिको लागि वार्तामा सहभागी हुन प्रतीक्षारत छन्,” भन्नुभयो । सो अवसरमा, पोप लियो चौधौंको स्वागत गर्नका लागि दुई लाख भन्दा बढी श्रद्धालु सेन्ट पिटर्स स्क्वायरमा उपस्थित थिए ।

उहाँको उद्घाटन समारोहलाई संयुक्त राज्य अमेरिका सहितका धेरै देशहरूबाट उच्च स्तरको प्रतिनिधित्व प्राप्त भएको थियो । सुरुमा, पोप लियोले सन्त पिटरको समाधिमा प्रार्थना गर्नुभयो र त्यसपछि पोप पदको चिन्हहरु ग्रहण गर्नुभयो ।

उहाँले पल्लियम र फिशरम्यान्स रिङलाई सम्मानका साथ प्राप्त गर्दै आफ्नो आधिकारिक कार्यकालको आरम्भ गर्नुभयो ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्