किशोरीलाई जीवनोपयोगी नैतिक शिक्षा सिकाउँदै शुक्लाफाँटा



कञ्चनपुर, १४ जेठ । शुक्लाफाँटा नगरपालिकाको महिला तथा बालबालिका शाखाले किशोरीलाई जीवनोपयोगी नैतिक शिक्षा सिकाउन थालेको छ ।

किशोरीलाई सैैद्धान्तिक शिक्षासँगै नैतिक ज्ञान दिने उद्देश्यले नगरले उक्त कार्यक्रम सञ्चालन गरेको हो । नगरभित्रका विभिन्न वडाका किशोरीसहित अभिभावकलाई एउटै स्थानमा भेला गराएर नैतिक शिक्षासम्बन्धी जानकारी दिने काम भइरहेको नगरको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले जानकारी दिनुभयो । “नैतिक शिक्षाले जीवनका मूल्य, मान्यता, व्यवहार, जिम्मेवारी र निर्णय लिने क्षमतामा विकास गर्छ”, उहाँले भन्नुभयो, “किशोरीलाई आत्मनिर्भरता, आत्मविश्वास, व्यक्तिगत जिम्मेवारी, फरक विचार र संस्कृति, समयसँगै आउने परिस्थिति स्वीकार गर्नसक्ने बनाउने उद्देश्यले नैतिक शिक्षा सिकाउन थालिएको हो ।”

समूहमा रहेर काम गर्ने र सहयोगी भावनाको विकास गराउन नैतिक शिक्षाको महत्त्व रहेको जोशीले बताउनुभयो । उहाँले असफलतामा निराश नहुने, प्रयास जारी राख्ने सोचको विकास हुनु जरुरी रहेको भन्दै सकारात्मक दृष्टिकोणले मानसिक स्वास्थ्यको स्तर बिग्रन नदिन पनि नैतिक शिक्षा जान्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

इमान्दार र निष्ठावान् भएर सधैँ मेहनतका साथ अगाडि बढ्नुपर्छ । इमान्दार व्यक्तिको समाजमा सम्मान हुन्छ भन्ने कुरा किशोरीलाई सिकाउने काम नैतिक शिक्षाले गर्ने शाखा प्रमुख जोशीले उल्लेख गर्नुभयो । अभिभावकले किशोरीहरूको सर्वोत्तम हितलाई ध्यान दिने, सुरक्षित र सकारात्मक वातावरण सृजना गर्ने, समसामयिक परिस्थितिबारे जानकारी दिने, पर्याप्त समय दिने, सरसफाइ तथा स्वास्थ्यमा विशेष ध्यान दिने, सामाजिक सम्बन्धबारे जानकारी गराउने, समयसापेक्ष विषयमा सचेत गराउनेलगायत काम नगरको महिला तथा बालबालिका शाखाले गर्दै आएको शाखा प्रमुख जोशीले जानकारी दिनुभयो ।

किशोरीलाई सुरक्षाको अनुभूति दिलाउने, सकारात्मक भावनाको विकास गराउने, सन्तानको आलोचना नगर्ने, सहयोगी वातावरण निर्माण गर्ने, अरुको विचार तथा भावनाको कदर गर्नुपर्नेलगायत विविध विषयमा ज्ञान दिइँदै आइएको उहाँले बताउनुभयो । “असमान शक्ति र सम्बन्धका कारण शक्ति सम्पन्नले कमजोरमाथि गर्ने दमन, शोषण र उपेक्षा हिंसा हो” नगर उपप्रमुख कल्पना पन्तले भन्नुभयो, “नेपाली समाज पितृसत्तात्मक भएकाले अहिले पनि कतिपय किशोरी कुनै न कुनै रूपमा हिंसाको सिकार हुने गरेका छन् ।”

समाजलाई हिंसामुक्त बनाउन अभिभावक शिक्षित र सचेत हुनु जरुरी रहेको उहाँको भनाइ छ । प्रारम्भिक बाल्यावस्थाका भोगाइहरू जीवनभर मस्तिष्कमा रहिरहने भएकाले यसका कारण न्यूरोलाई क्षति गरी बालबालिकाको बौद्धिक सीप पनि कमजोर बनाउने जोखिम रहेको नगरपालिकाको कार्यपालिका सदस्य भुमा चन्दले बताउनुभयो । विद्यालयतहदेखि नै सिक्ने र सोच्ने क्षमतामा विकास गराउन नैतिक शिक्षा आवश्यक पर्ने उल्लेख गर्नुभयो । “हिंसा र दुव्र्यवहारमा हुर्किएका बालबलिकाको व्यवहार माया, सद्भाव पाएका बालबालिकाको भन्दा फरक हुन्छ”, चन्दले भन्नुभयो, “यस्ता बालबालिकामा हिनता र बदलाको भाव देखिने, डरत्रास बढ्ने, आत्मविश्वास र कमजोर मनोबल हुन्छ ।

यसबारे पनि अभिभावक र किशोरीलाई सँगै भेला गरेर जानकारी दिने काम भइरहेको छ ।” नेपाल बहुसूचक सर्वेक्षण सन् २०१४ अनुसार ८० प्रतिशत बालबालिका (० देखि १४ वर्षसम्म) माथि अनुशासनका नाममा हिंसा हुने गरेको छ । युनिसेफ नेपालको गरेको अध्ययनले हरेक १० मध्ये आठजना बालबालिकामा अनुशासनको नाममा हिंसा हुने गरेको देखाएको छ ।

बाल संरक्षणका लागि नगरपालिकाले स्थानीय बाल अधिकार समिति, वडास्तरीय बाल अधिकार समिति गठन, बाल क्लब तथा बाल सञ्जाल गठन गर्ने, बाल कोष स्थापनालगायत कार्य गर्दै आएको छ । नगरप्रमुख रणबहादुर महराले आधारभूत तहको स्थानीय पाठ्यक्रममा नैतिक शिक्षालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक तयार गरिने जानकारी दिनुभयो ।

किशोरीलाई सिकाउन थालिएको नैतिक शिक्षाले समाजमा सकारात्मक परिर्वतन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । “नैतिक शिक्षाले किशोरकिशोरीमा जीवनका मूल्यमान्यता सिकाउनुका साथै सदाचार र जिम्मेवार नागरिक बन्ने आधार तय गर्दछ”, उहाँले भन्नुभयो, “पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी ज्ञान दिने लोक तथा प्रेरणादायक कथाहरू, सङ्घर्षका विषय राखिनेछन् । त्यस्ता पाठ्यसामग्री समावेश गर्न पाठ्यक्रम निर्माण गर्ने विज्ञलाई सुझाव दिने छौँ ।”

नगरपालिकाको महिला तथा बालबालिका शाखाले तीन सय बढी किशोरी, अभिभावक र बालबालिकालाई जीवनोपयोगी नैतिक शिक्षासम्बन्धी जानकारी दिने जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्