अभिनेत्री रेखा थापा रंगमञ्चमा, नाटक ‘मीरा’ मा डेब्यु !
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अभिनय यात्रा अब रंगमञ्चमा पनि विस्तार गरेकी छन्।
दर्जनौं सफल फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेकी थापाले आफ्नो पहिलो नाटक ‘मीरा’ मार्फत रंगमञ्चमा पाइला टेकेकी हुन् ।
सोमबार साँझ ५स्३० बजे काठमाडौंको नक्साल, गैह्रिधारास्थित ‘कान्तिपुर थिएटर’ मा नाटक ‘मीरा’को पहिलो मञ्चन भव्य रूपमा सम्पन्न भयो। अब यो नाटक बुधबार बाहेक प्रत्येक दिन असार ७ गतेसम्म नियमित रूपमा मञ्चन हुनेछ।
दीपक सिञ्जालीद्वारा लिखित उपन्यासमा आधारित यो नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका हुन्। नाटक ‘मीरा’मा रेखा थापा संगै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको दमदार अभिनय पनि हेर्न पाइनेछ।
यस नाटक मञ्चनसँगै ‘कान्तिपुर थिएटर’ को पनि औपचारिक उद्घाटन गरिएको छ। यो थिएटर कान्तिपुर फिल्म एकेडेमीको नयाँ पहलस्वरूप स्थापना गरिएको हो, जसले नेपाली रंगमञ्चलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।
रेखा थापाको रंगमञ्चमा आगमनलाई धेरैले नयाँ ऊर्जा र सम्भावनाको सुरुवातका रूपमा लिएका छन्। फिल्ममा जति बलियो उपस्थिति देखाएकी थापा रंगमञ्चमा पनि दर्शकको मन जित्न सफल हुने विश्वास गरिएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार
















