सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को आवेदन फारम खुल्ला
काठमाडौं । नेपाली कला, संस्कृति र स्रष्टाको सम्मानमा समर्पित सगरमाथा म्युजिक अवार्डको सातौं संस्करणका लागि आवेदन फारम खुला गरिएको छ। आयोजक संस्था अर्थ नेपाल प्रा.लि.ले एक प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुने यो अवार्ड कार्यक्रममा २०८१ सालको बैशाखदेखि चैत्र मसान्तसम्म बजारमा सार्वजनिक भएका गीत–संगीतहरुले सहभागिता जनाउन सक्ने छन्।
कार्यक्रम संयोजक मनोज थापाका अनुसार सातौं संस्करणमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप आधुनिक विधामा देशभरका सर्जक, गायक, संगीतकर्मी, एरेन्जर, भिडियो निर्माता लगायतका श्रष्टाले आवेदन दिन सक्नेछन्।
यसअघि सगरमाथा म्युजिक अवार्डका ६ संस्करणहरू भव्य रूपमा सम्पन्न भइसकेका छन्।
कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतका अनुसार यो संस्करणमा नेपाली गीत–संगीतमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तित्वलाई लाईफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। साथै, कला पत्रकारितामा कलम चलाउने एकजना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मानद्वारा सम्मान गरिने पनि जानकारी दिइएको छ।
अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार
















