गुलरिया नगरपालिकाद्वारा कालो सुचीमा राख्नु पर्ने फर्मबाट औषधी खरिद
सन्दिप कुमार बैश्य
बर्दिया । गुलरिया नरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा कालो सुचीमा राख्नु पर्ने फर्मबाट औषधी खरिद गरेको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा गुलरिया नरपालिकाले कालो सुचीमा राख्नु पर्ने फर्मबाट औषधी खरिद गरेको उल्लेख छ ।
पालिकाले औषधी खरिदका लागि इविडिङ गर्दा सारभूत रूपमा प्रभावग्राही न्युनतम कबोल गर्ने सिर्जना मेडिसिन सप्लायर्सलाई छनोटगरी १५ दिनभित्र खरिद सम्झौता गर्न पत्र पठाएकोमा सम्झौता गर्न नआएकोले निजको जमानत ३९ हजार रूपैयाँ जफत भएको थियाे ।
तर यसरी सम्झौता गर्न नआउने सिर्जना मेडिसिन सप्लायर्सलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनु पर्नेमा पुनः ठेक्का इविडिङ गरी सबैभन्दा कम कबोल गर्ने सिर्जना मेडिसिन सप्लायर्सलाई नै छनोट गरी औषधी खरिद गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
पालिकाले औषधी एंव सर्जिकल सामाग्री खरिद गर्दा दोस्रो इविडिङमार्फत सिर्जना मेडिसिन सप्लायर्ससँग खरिद गरेको र पछि सोही फर्मसँग सोझै खरिद गरेको औषधी निम्नानुसार फरक दरममा खरिद गर्दा रू. ५ लाख २८ हजार ५ सय ७२ व्ययभार परेको देखिनुका साथै पहिलो ठेक्कामा कार्य नगरेको जमानत जफत भएकोले फर्मलाई कलो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस नगरी औषधी एंव सर्जिकल सामाग्री खरिद गरी रू. १२ लाख ५४ हजार ७ सय १३ खर्च अनियमित देखिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) (ख) मा दफा २७ वा ३८ वमोजिम स्वीकृतका लागि छनोट भएका वोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा त्यस्तो आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलालाई निजको कार्यको गम्भीरताको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षदेखि तीन वर्षसम्म कालो सूचीमा राख्न सक्ने व्यवस्था छ ।




प्रकाशित मिति: २५ असार २०८२, बुधबार










