आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं, असार २६ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहे पनि पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर सरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकावाला सबै निकायमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्