६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ, असार २६ । आज संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ ।
जसमध्ये अर्थ समितिको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ । दोस्रो सत्रमा भने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।
त्यस्तै, आज दिउसो १ बजेदेखि नै हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउसो १ बजेदेखि बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषदसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै,आज दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा समितिको २३औं वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
यस्तै,आज बिहान साढे ११ बजेदेखि राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनस्र्थापना सम्बन्धमा छलफल हुनेछ ।
त्यसै गरी दिउसो १ बजेदेखि विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको छ ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










