आज गुरुपूर्णिमा : गुरुको सम्मान गरि मनाइँदै
काठमाडौं । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी आज गुरुपूर्णिमा मनाइँदैछ ।
ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।
मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।
वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ ।
बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन् ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










