मामा–माइजूको हत्या आरोपी २२ वर्षपछि पक्राउ
काठमाडौँ, असार २६ । सिन्धुलीमा आफ्नै मामा-माइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको दुधौली नगरपालिका–१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका उदयपुरको कटारीका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ । थापाको घर उदयपुरको कटारी हो ।
थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका–९ जलकुण्डीबाट पक्राउ गरेको हो ।
हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । कार्की दम्पती थापाका कान्छो मामामाइजू हुन् ।
घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए । मामा–भान्जाबीचको आर्थिक लेनदेनको विषयले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










