यौन धन्दासहितका गतिविधि नियन्त्रणका लागि प्रहरीको ‘अपरेसन क्लिन’ अभियान
सुर्खेत । सुर्खेत प्रहरीले लागू औषध, अवैध यौनजन्य गतिविधि र जुवातास लगायतका गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ ।
प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही सुर्खेतको नेतृत्व सम्हाल्न आएसँगै राजधानी वीरेन्द्रनगरसहित जिल्लामा हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘अपरेसन क्लिन’ अभियान सञ्चालन गरिएको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख शाहीले आफ्नो कार्यकाल सुरु भएदेखि हालसम्म गरिएका महत्त्वपूर्ण कामकारबाहीबारे जानकारी गराए । ‘सुर्खेतमा लागू औषध, जुवा र वेश्यावृत्ति मुख्य सामाजिक समस्याको रूपमा देखिएका छन्,’ एसपी शाहीले भने, ‘यसको नियन्त्रणका लागि हामीले शून्य सहनशीलताको नीति अपनाएर कामलाई उच्च प्राथमिकतामा राखेका छौँ ।’
उनका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३५ ग्राम ३४० मिलिग्राम लागुऔषध (ब्राउन सुगर), १७ ग्राम ३६० मिलिग्राम चरेस र ५ किलो ६४० ग्राम अफिम बरामद गरेको छ । लागू औषध कारोबारमा संलग्न ४४ जनालाई पक्राउ गरिएको छ, जसमा ५ जना महिला रहेका छन् ।
जुवाताससम्बन्धी ४ वटा मुद्दामा २१ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।
यस्तै अवैध यौनजन्य गतिविधिमा संलग्न २९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । पक्राउ पर्नेमा १२ पुरुष, १२ महिला र ३ जना होटेल सञ्चालक छन्, जसले व्यावसायिक रूपमै यौनधन्दा चलाइरहेको खुलेको छ ।
अनुसन्धानका क्रममा यौनधन्दामा संलग्नहरूको डरलाग्दो तथ्य पनि बाहिर आएको छ । पक्राउ परेकामध्ये एक जना महिला एचआईभी संक्रमित र एक जना होटेल सञ्चालक पनि उक्त रोगबाट ग्रसित रहेको पाइएको छ ।
एसपी शाहीले भने, ‘समाजका विभिन्न तहबाट आएका गुनासा र सूचनाको आधारमा हामीले यी विकृतिविरुद्ध शून्य सहनशीलता अपनाएका छौँ । विशेषगरी होटेलहरूमा व्यावसायिक रूपमै यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाहीलाई तीव्र बनाएका छौँ ।’
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










