प्रधानमन्त्री ओली आज गृहजिल्ला जाने



काठमाडौँ, असार २८ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् ।

प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । उनी आज बिहान ११ः३५ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल पुग्ने कार्यक्रम छ ।

दिउँसो १२ बजे झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन् । त्यसपछि बुद्धशान्तिबाट इलाम प्रस्थान गर्ने कार्यक्रम छ ।

आजै दिउँसो २ः१५ बजे इलामको माई नगरपालिका–२ मा नगर अस्पताल उद्घाटन, सुकुम्वासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास गर्नेछन्।

प्रधानमन्त्री ओलीले आजै दिउँसो ४ः४५ बजे कनकाई नगरपालिका–३ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ ।

आज झापाको दमकमै बस्ने प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे दमक–२ स्थित पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलि बिहान साढे ११ बजे गौरीगञ्ज पश्चिममा हुलाकी राजमार्गमा निर्मित रतुवा खोलाको पुल उद्घाटन गर्ने गरेर दिउँसो साढे १ बजे काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्