बिपी राजमार्ग अवरुद्ध, तीन ठाउँमा पहिरो
काठमाडौँ, असार ३१ । पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेको छ । पहिरो र लेदोका कारण राजमार्गका तीन स्थानमा सडक अवरुद्ध भएको हो ।
गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको छ । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आएर सडक अवरुद्ध भएको थियो ।
सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आएरु सडक अवरुद्ध भएको छ । स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार










