राप्रपा आज अख्तियार जाँदै, ज्ञापनपत्र बुझाउने
काठमाडौं । सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाँदै छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको टोली आज दिउँसो १ बजे टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
राप्रपाले यो अभियान अन्तर्गत २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको छ ।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार










