नदीहरूमा जल सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशमा विभिन्न स्थानमा परेको भारी वर्षाका कारण नदीहरूमा जल सतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
इलामको कनकाई, मैनाचुली, देउमाई खोला जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।
विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै झापामा कन्काई नदीमा आइतबार बिहान बाढी आएको छ । कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ । लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैगरी सुनसरीमा बुढीखोलामा आइतबार बिहान बाढी आएको छ । दुहबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै पर्वतमा मोदीखोलामा बाढी आएको बाढीले सतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार










