घरधनीमाथि खुकुरी प्रहार गरी बुद्धचित्त चोरी गर्ने तीन जना पक्राउ



काठमडौं । बुद्धचित्त चोरी गर्न घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन्। उनीहरूबाट ९९ वटा काँचो बुद्धचित्तको दाना बरामद गरिएको प्रहरीले जनाएको छ।

शनिबार राति सवा २ बजेतिर ललितपुरको गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा रहेको बुद्धचित्तको रूखबाट दाना चोर्न आएका सिसिटिभी तार काटेर चोरी सुरु गरेका थिए ।

तर, कुकुरको भुकाइपछि घरधनी मार्फा बाहिर निस्किए। त्यतिबेला समूहले उनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएर बुद्धचित्तको दाना चोरेर फरार भएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घरधनीको दायाँ हातमा चोट लागेको छ र उनीलाई आनन्दवन अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

उनको हातमा पाँच वटा टाँका लागेको छ र उनी अहिले डिस्चार्ज भइसकेका छन्।

घटनापछि आइतबार बिहान ५ बजे प्रहरी वृत्त चापागाउँको टोलीले तीन जना संलग्नलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू आपराधिक पृष्ठभूमि बोकेका छन्। प्रतिमान गोले यसअघि मोटरसाइकल चोरीमा संलग्न देखिएका थिए भने बुद्ध तामाङ सुनको चेन लुटपाटमा संलग्न रहेको तथ्य फेला परेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्