बीमा : आर्थिक सुरक्षाको आधार र समृद्धिको मार्ग



सुशीलदेव सुवेदी
कार्यकारी निर्देशक
नेपाल बीमा प्राधिकरण
बीमा वित्तीय सुरक्षा प्रदान गर्ने एक प्रभावकारी उपाय हो । जसले भविष्यमा सम्भावित अनिश्चितता तथा आकस्मिक आर्थिक क्षतिको सामना गर्न मद्दत गर्छ । वर्तमान समयमा सम्पत्ति, जीवन तथा दायित्व सुरक्षाका विविध विधिहरू प्रचलनमा रहे तापनि, बीमा प्रणाली वैज्ञानिक रूपले परिस्कृत तथा व्यवस्थित भएकाले यसलाई विश्वसनीय सुरक्षा कवच मानिन्छ ।

बीमाको मुख्य उद्देश्य व्यक्तिगत तथा संस्थागत स्तरमा जोखिमको व्यवस्थापन गर्नु हो । बीमा संरचनाले व्यक्तिलाई आकस्मिक घटनाहरू जस्तैः प्राकृतिक विपत्ति, स्वास्थ्य संकट वा अकस्मात् भएको आर्थिक गिरावटबाट सुरक्षित राख्ने ग्यारेन्टी दिन्छ । बीमकहरूले दीर्घकालीन स्थिरता र निरन्तरता सुनिश्चित गर्न, नीतिहरूको निर्माण एवं कार्यान्वयनमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउने गर्छन् ।

निश्चय नै जीवन तथा सम्पत्तिको मूल्य स्थिर छैन र भविष्यको अनिश्चितताले आर्थिक प्रणालीमा विविध प्रभाव पार्न सक्छ । यस्ता परिस्थितिमा बीमाले स्थिरता, विश्वसनीयता तथा सुनिश्चितता प्रदान गरी व्यक्तिलाई आत्मविश्वास र मनोवैज्ञानिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

बीमा मानव सभ्यताको विकासक्रमसँगै निरन्तर परिस्कृत हुँदै आएको एक सुदृढ वित्तीय सुरक्षा प्रणाली हो । जसले अनिश्चित भविष्यमा उत्पन्न हुनसक्ने आर्थिक जोखिमको व्यवस्थापन गर्छ । प्राचीन युगदेखि नै पूर्वीय समाजमा बीमाको मौलिक अवधारणा भिन्न अस्तित्वमा रहेको पाइन्छ । ऐतिहासिक दृष्टिले हेर्दा चीन, भारत, पर्सिया, बेबिलोन, इजिप्ट तथा रोमजस्ता प्राचीन सभ्यताहरूमा बीमाका विभिन्न रूपमा अवस्थित प्रणाली देखिन्छन् ।

प्राचीनकालमा सामाजिक सहायता नै बीमाको प्रारम्भिक स्वरूप थियो । विपत्तिमा परेका व्यक्तिलाई समुदायले काठ, अन्न, वस्त्र वा श्रम उपलब्ध गराई पुनःस्थापना गर्ने परम्परा थियो । वस्तु विनिमय प्रणालीको विकाससँगै बीमा प्रणाली थप व्यवस्थित हुँदै गयो । जब मुद्रा प्रचलनमा आयो, बीमाले व्यावसायिक स्वरूप ग्रहण ग¥यो । जसले बीमित व्यक्ति वा संस्था र बीमक कम्पनीबीच करार सम्झौताबाट जोखिम बहनको सुनिश्चितता प्रदान ग¥यो ।

समयसँगै बीमा क्षेत्र व्यापक भएको छ । आधुनिक युगमा बीमा अब केबल व्यक्तिगत वा पारिवारिक सुरक्षामा सीमित छैन । व्यवसाय, उद्योग तथा समग्र अर्थतन्त्रको सुनिश्चित गर्ने महत्वपूर्ण आर्थिक उपकरण बनेको छ । बीमाको प्राथमिक उद्देश्य अप्रत्याशित दुर्घटना, स्वास्थ्य संकट, प्राकृतिक प्रकोप, वा अन्य क्षतिको आर्थिक प्रभावलाई न्यून गर्न व्यवस्थापन गर्नु हो ।

बीमाको महत्व
बीमा वित्तीय सुरक्षाको आधारस्तम्भ हो, जसले व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक स्तरमा आर्थिक स्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । बीमाको महत्व केवल क्षतिपूर्ति प्राप्तिमा सीमित छैन । यसले दीर्घकालीन वित्तीय योजना, जोखिम व्यवस्थापन तथा सामाजिक स्थायित्वको सुनिश्चितता प्रदान गर्छ ।

बीमा प्रणालीले आकस्मिक घटनाहरू जस्तैः प्राकृतिक प्रकोप, स्वास्थ्य संकट, दुर्घटना वा अन्य अनिश्चितताबाट उत्पन्न आर्थिक क्षतिको भार कम गर्न मद्दत गर्छ । यसले समग्र अर्थतन्त्रलाई पनि स्थिरता प्रदान गर्छ । संकलित बीमा शुल्कलाई विभिन्न लगानीका क्षेत्रमा परिचालन गरी आर्थिक वृद्धि गरिन्छ ।

बीमाको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक सुरक्षासँगको सम्बन्ध हो । वृद्धावस्था, अशक्तता तथा जीवनपर्यन्त जोखिमहरूलाई व्यवस्थापन गर्न बीमाले मद्दत गर्छ । जीवन बीमा योजनाले भविष्यमा उत्पन्न हुनसक्ने आर्थिक अस्थिरतालाई न्यूनीकरण गर्छ ।

व्यावसायिक क्षेत्रमा बीमाको भूमिका झन् महत्वपूर्ण छ । उद्योग तथा व्यवसायले बीमा प्रणालीलाई अपनाएर उत्पादन तथा सेवा प्रवाहलाई निरन्तरता दिन सक्छन् । बीमा नभएको अवस्थामा कुनै पनि आकस्मिक संकटले व्यवसायलाई धराशायी बनाउन सक्छ । बीमाले यस्ता जोखिमलाई न्यूनीकरण गर्दै व्यवसायलाई पुनःस्थापित गर्न सघाउँछ ।

बीमा केबल व्यक्तिगत सुरक्षाको साधनमात्र होयन, समग्र आर्थिक संरचनाको अभिन्न अंग पनि हो । यसको प्रभाव वित्तीय स्थिरता, सामाजिक सुरक्षा तथा दीर्घकालीन आर्थिक योजनासँग जोडिएको छ ।

बीमाको वर्तमान अवस्था
नेपालमा बीमा क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ । हाल देशभरि १४ जीवन बीमा कम्पनी, १४ वटै निर्जीवन, २ पुनर्बीमा र ७ वटा लघु बीमा कम्पनी सञ्चालित छन् । कुल ३७ बीमकहरूमध्ये ३ वटा सरकारी लगानी, २९ निजी क्षेत्रबाट सञ्चालित, ३ विदेशी कम्पनीका शाखा र २ वटा संयुक्त लगानीका कम्पनी रहेका छन् । साथै, हालसम्म १६ वटा पुनर्बीमा ब्रोकरहरू नेपाल बीमा प्राधिकरणमा दर्ता भएका छन् ।

बीमा क्षेत्रबाट आव २०८१/०८२ को वैशाख मसान्तसम्म १ खर्ब ७६ अर्बभन्दा बढी कुल प्रिमियम सङ्कलन गरिएको छ । नेपालका बीमकहरूले ३.४७ प्रतिशत गार्हस्थ उत्पादनमा योगदान पु¥याएका छन् । जसले चालू आवको अन्त्यसम्ममा ३.६९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

हाल नेपालको बीमा पहुँच ४४.६४ प्रतिशत रहेको छ, तर ५६ प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि बीमा पहुँचभन्दा बाहिरै छन् ।

रोजगारीतर्फ बीमा क्षेत्रले प्रत्यक्ष रूपमा १२,२४५ भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ । नेपालभरि ४ लाखभन्दा बढी एजेन्ट दर्ता भई अप्रत्यक्ष रुपमा रोजगारीमा छन् । सर्भेयरहरु पनि १४१५ जना संलग्न छन् । त्यस्तैगरी बीमा कम्पनीहरूले गरेको लगानीका परियोजनाहरूले पनि हजारौंलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ । यसले अप्रत्यक्ष रूपमा वित्त, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतमा रोजगारी सिर्जना गरेको छ ।

बीमा कम्पनीहरूले संस्थागत आयकर, मूल्य अभिवृद्धि कर, विदेशी पुनर्बीमामा लाग्ने शुल्कलगायतका करमार्फत सरकारी राजस्वमा योगदान पु¥याउँदै आएका छन् ।

नेपालको बीमा क्षेत्रको वृद्धिले वित्त, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारजस्ता विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ । तर, अझै पनि बीमाको पहुँच विस्तार गर्न आवश्यक देखिन्छ ।

बीमामा अवसर
नेपालमा बीमा क्षेत्रले वित्तीय स्थायित्व, सम्पत्ति सुरक्षा तथा लगानी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । बीमा कम्पनीहरू वित्तीय व्यवस्थापनका रणनीतिक साझेदार पनि हुन् । व्यवसाय तथा व्यक्तिगत जीवनका अनिश्चितताहरू कम गर्न बीमाले ठोस उपाय प्रदान गर्दै आएको छ, जसले अर्थतन्त्रलाई थप सुदृढ बनाउँदै आएको छ ।

विविधीकृत जोखिम व्यवस्थापनमा बीमाको भूमिका निकै प्रभावकारी छ । जलवायु परिवर्तन तथा प्राकृतिक विपत्तिहरूको जोखिम व्यवस्थापनमा बीमाले योगदान पु¥याउँछ । नेपालमा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न बीमा योजनाले महत्वपूर्ण भूमिका खेलेका छन् ।

सरकारी नीतिहरूमा बीमालाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा समावेश गरिनु यसको बढ्दो महत्वको संकेत हो । बीमा उद्योगको सही प्रवद्र्धनले दीर्घकालीन समृद्धिको बाटो खोल्न सक्छ ।

परम्परागत बीमा सेवाको सुधारसँगै डिजिटल प्रविधि, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोगले बीमा क्षेत्रलाई अधिक प्रभावकारी बनाउन सक्छ । बीमा अन्डरराइटिङ तथा दाबी प्रक्रियामा डेटा तथा एआई प्रविधिको प्रयोग गर्दा ग्राहकहरूलाई छिटो, विश्वसनीय तथा पारदर्शी सेवा उपलब्ध गराउन सकिन्छ ।

यस्तो प्रविधि एकीकरणले बीमा सेवाहरूको सुगमता बढाउने मात्र होइन, ग्राहकहरूको आवश्यकतानुसार व्यक्तिगत तथा अनुकूलित योजनाहरू निर्माण गर्न सहयोग पु¥याउँछ ।

बीमा कम्पनीहरूले लगानी विविधीकरणमार्फत समग्र अर्थतन्त्रमा योगदान पु¥याएका छन् । नेपालमा बैंकिङ क्षेत्रको मौज्दात बढाउन तथा तरलता व्यवस्थापन गर्न बीमा कम्पनीहरूद्वारा सञ्चित पुँजीले सकारात्मक प्रभाव पारिरहेको छ । बैंक तथा बीमा कम्पनीहरूबीचको सहकार्यले वित्तीय गतिशीलता बढेको अवस्था छ ।

नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट बनाउने लक्ष्य राख्दै विश्वव्यापी उत्कृष्ट अभ्यासहरूलाई आत्मसात गर्ने अवसर छ । अन्तर्राष्ट्रिय बीमा बजारमा अपनाइएका रणनीतिहरू नेपालमा लागू गर्न सक्दा सेवाहरूको गुणस्तर सुधार हुनेमात्र होइन, प्रतिस्पर्धात्मक बजार सिर्जना गर्न मद्दत पुग्छ । बीमा नियमन, जोखिम व्यवस्थापन तथा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न आवश्यक नीति निर्माण गर्न सकिन्छ ।

यसकारण, बीमा क्षेत्र नेपालमा केबल वित्तीय सुरक्षाको माध्यम मात्र नभएर समृद्धि, लगानी प्रवद्र्धन, तथा नवीनतम प्रविधिहरूको सङ्ग्रह गर्ने गतिशील क्षेत्रको रूपमा स्थापित भइरहेको छ ।

विदेशी लगानी भित्र्याउने माध्यम
नेपालमा बीमा क्षेत्र सेवा उद्योगअन्तर्गत पर्दछ, जसले विभिन्न वित्तीय सुरक्षा सेवाहरू प्रदान गर्दछ । हाल नेपालमा सेवा उद्योगमा वैदेशिक लगानी भित्र्याउन प्राथमिकता भएकोले बीमा क्षेत्रले विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

हाल भारतीय बीमा कम्पनीहरू ओरिएन्टल र नेसनल इन्स्युरेन्स नेपालमा शाखा कार्यलय खोली सञ्चालनमा छन् । त्यस्तै, मेटलाइफ एलिको पनि शाखा खुलेको छ । केही बीमा कम्पनीहरू विदेशी संस्थासँग संयुक्त लगानीमा सञ्चालित छन् ।

यद्यपि, नेपालमा बीमा क्षेत्रमा अपेक्षित मात्रामा वैदेशिक लगानी भित्रिन सकेको छैन । विगतमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग परामर्श लिई प्रविधिगत सुझाव प्राप्त भएका थिए । विभिन्न अध्ययनहरू पनि भए । तर, ठूलो मात्रामा लगानी भित्रिन सकेको छैन ।

नेपालको बीमा क्षेत्रले आगामी दिनमा अझ प्रभावकारी नीतिहरू अपनाएर विदेशी लगानी भित्र्याउने क्षमता राख्छ । पर्याप्त नियामक सुधार, लगानीकर्तालाई आकर्षक प्रोत्साहन र अन्तर्राष्ट्रिय स्तरको प्रविधि तथा व्यवस्थापनको पक्षमा ध्यान दिन सके थप प्रतिस्पर्धात्मक तथा विश्वसनीय बनाउन सकिन्छ ।

बीमाबाट समृद्धि
आर्थिक सुरक्षा/क्षतिपूर्ति भरण :
आर्थिक बजार यतिबेला अस्थिर छ । व्यापार व्यवसाय सुस्त गतिमा चलिरहेका छन् । त्यस्तै प्राकृतिक विपत्ति, आर्थिक मन्दी तथा अन्य अनिश्चितताहरू उत्पन्न हुने सम्भावना प्रवल छ । यस्ता चुनौतीपूर्ण परिस्थितिमा बीमा आर्थिक सुरक्षामा प्रभावकारी उपाय बन्न सक्छ ।

बीमाले व्यक्तिलाई अप्रत्याशित जोखिमहरूबाट जोगाउन मद्दत गर्दछ । यदि कसैले एक करोड मूल्य बराबरको सम्पत्ति जोडेको छ र त्यसको बीमा गराएको छ भने, कुनै क्षति वा आपत्कालीन परिस्थितिमा क्षतिपूर्ति पाउँदा सन्तुलन कायम गर्न सक्छ ।
बीमाले व्यक्तिगत तथा व्यावसायिक स्थिरता कायम राख्न मद्दत भई दीर्घकालीन आर्थिक समृद्धिलाई सुनिश्चित गर्छ ।

पुँजीको निर्माणः राष्ट्रमा पुँजी निर्माण गर्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्छ । हालसम्म विदेशी बीमकबाहेकको तथ्याङ्क हेर्ने हो भने जीबन, निर्जीवन, लघु र पुनर्बीमा बीमकहरुको कुल चुक्ता पूँजी १.१२ खर्बभन्दा बढी भइसकेको छ । बीमा कम्पनीद्वारा सङ्कलित कोष व्यवस्थापन रकमले वित्तीय स्रोतको सुदृढीकरणमात्र गर्दैन, आर्थिक विकासको गतिलाई पनि तीव्र बनाउँछ ।

नेपालमा बीमा क्षेत्रले अहिले झण्डै ८.४७ खर्बभन्दा बढी राष्ट्रको आर्थिक प्रवाहलाई मजबुत बनाउन विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

सङ्कलित कोषलाई ऊर्जामा लगानी भएको छ । यसले दीर्घकालीन रूपमा विद्युत् उत्पादन तथा अन्य ऊर्जा परियोजनालाई सघाएको छ । त्यस्तै, पूर्वाधारतर्फ यातायात, सञ्चार तथा निर्माण क्षेत्रको प्रवद्र्धनमार्फत व्यवसाय तथा रोजगारीका अवसर बढिरहेको छ ।

कृषि क्षेत्रमा पनि बीमकको लगानीले कृषकलाई जोखिम न्यूनीकरण तथा उत्पादन वृद्धि गर्न सहायता पु¥याएको छ । वित्तीय संस्थाहरू, बैंक तथा पर्यटन क्षेत्रले पनि बीमाको कोषमार्फत आवश्यक पुँजी प्राप्त गर्दै आर्थिक सशक्तीकरण गरेको छ । यस्ता सङ्कलित पुँजीले राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरिरहेको छ ।

रोजगारी सिर्जनाः बीमा क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीका अवसरहरु सिर्जना गरेको छ । बीमा कम्पनीहरूले १२ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् । बीमाका ४ लाखभन्दा बढी अभिकर्ताले अप्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै १,४१५ सर्भेयरहरू पनि बीमा क्षेत्रसँग आबद्ध छन् ।

बीमा क्षेत्रको विस्तारसँगै रोजगारीका अवसरहरू अझ बढ्दै गएका छन् । यसले दिने सेवा सुविधा तथा क्षमता अभिवृद्धि तालिमका कारण सर्वसाधारण आकर्षित भएका छन् ।

विपन्नको साथी : विपन्न वर्ग प्रायः निर्वाहमुखी हुन्छ । त्यो वर्ग सानो समूहमा बाख्रा पालेर, गाईभैंसी पालेर, सानो क्षेत्रमा खेती गरेर होस अथवा कुनै ट्रयाक्टर, टयाम्पु चलाएर या सानोतिनो पसल चलाएर जीवन निर्वाह गरिरहेको हुन्छ ।

कुनै प्राकृतिक विपत्ति र दुर्घटना परेर उसको धनमा क्षति भयो भने उसको जीवन चलाउनै मुस्किल हुन्छ । बीमा गरेको भए ऊ आर्थिक क्षतिबाट जोगिन्छ । अझ गरिब हुनबाट जोगिन्छ । अहिले नेपालमा २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् ।

त्यस्ता व्यक्तिलाई केही अनुदान दिएर भए पनि बीमामा आबद्ध गर्न सके उनीहरूलाई गरिबीबाट बाहिर निकाल्न सकिन्छ ।

मझौला व्यवसायी र साना उद्योगीको भरोसा : नेपालमा मझौला तथा साना व्यवसायीहरू आर्थिक गतिशीलताको महत्वपूर्ण हिस्सा हुन् । व्यापारमा स्टक/मौज्दातको उतार–चढाव हुने भएकाले कुनै पनि अप्रत्याशित घटनाले ठूलो आर्थिक क्षति पु¥याउन सक्छ । त्यसैले, व्यवसायीहरूले आफ्नो स्टकको बीमा गराउनु अत्यावश्यक छ । यदि व्यापार सञ्चालनका लागि आवश्यक सामग्री कुनै विपत्ति वा दुर्घटनाका कारण नष्ट हुन्छ भने बीमाका कारण व्यापार ठप्प हुनबाट जोगिन्छ ।

व्यवसाय सञ्चालनका क्रममा बैंकको ऋण भुक्तानी, कर्मचारीको तलब तथा गोदाम वा व्यापारिक स्थलको भाडा निरन्तर तिर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा स्टक नष्ट भइहाल्यो भने पनि बीमाबाट प्राप्त रकमले व्यवसाय पुनः सञ्चालन गर्न सकिन्छ । व्यापारलाई निरन्तरता दिन बीमा प्रभावकारी सुरक्षा उपाय हो ।

उद्योगको हकमा पनि यही सिद्धान्त लागू हुन्छ । कुनै उद्योगमा प्लान्ट वा मेसिन बिग्रियो भने, बीमाले त्यसलाई रक्षावरण गर्छ । यदि उद्योगमा प्रमुख उपकरणहरू क्षतिग्रस्त भए भने आर्थिक अभावका कारण उद्योग नै बन्द हुनसक्छ । तर बीमाले त्यस्तो क्षतिको पूर्ति गर्छ ।

बीमाले साना तथा मझौला उद्योगहरूलाई दीर्घकालीन आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउने महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा व्यावसायिक बीमाको प्रभावकारिता अझ बढाउन सकियो भने, उद्यमशीलता प्रवद्र्धन हुने र व्यवसायीलाई थप आत्मविश्वास दिलाउँछ ।

किसानका लागि अपरिहार्य : कृषि व्यवसायीका लागि बीमा अत्यन्त आवश्यक सुरक्षात्मक उपाय हो । उनीहरूको स्टक भनेकै उत्पादन गरिएको अनाज, फलफूल, तरकारी तथा अन्य कृषिबाली हुन् । विभिन्न प्राकृतिक विपत्ति, रोग, कीरालगायत जोखिमका कारण नष्ट हुन सक्छ ।

किसानले बीमाको सुविधा लिए भने उनीहरूले आफ्नो लगानीको सुरक्षा गर्न सक्छन् । विशेषगरी व्यावसायिक रूपमा कृषि गर्ने किसानलाई बीमा अनिवार्य छ । खेतीमा विभिन्न जोखिमहरू हुने भएकाले उत्पादन क्षतिग्रस्त भएमा किसानहरूको सम्पूर्ण लगानी जोखिममा पर्न सक्छ ।

कुनै प्राकृतिक प्रकोपका कारण वाली नष्ट भएमा, बीमाबाट क्षतिपूर्ति रकम प्राप्त हुन्छ । जसले पुनः अर्को बाली लगाउन सहयोग गर्छ । यसले किसानलाई आर्थिक रूपमा ठूलो राहत प्रदान गर्छ र उनीहरूलाई निरन्तर खेती गर्न प्रेरित गर्छ ।

बीमाका चुनौतीहरू
नेपालको बीमा अभ्यास दक्षिण एसियाका अधिकांश देशहरूसँग तुलना गर्दा अपेक्षाकृत राम्रो अवस्थामा रहेको मानिन्छ । तर, युरोप तथा अमेरिकी देशको तुलनामा नेपालमा अझै धेरै सुधार गर्नुपर्ने अवस्थामा छ । बीमा क्षेत्रलाई व्यवस्थित बनाउन निम्न चुनौतीहरू छन्ः

पहुँच विस्तारः नेपालमा बीमाको पहुँच अझै सीमित छ । ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरताको अभाव तथा बीमा सेवाको वितरण चुनौतीपूर्ण रहेको छ ।

जनचेतनाको कमीः बीमाको महत्वबारे आमनागरिकमा पर्याप्त जानकारी छैन । धेरैले बीमालाई अतिरिक्त खर्चको रूपमा हेर्ने चलने छ ।

नवीन प्रविधिको अभावः डिजिटल बीमा सेवा तथा प्रविधिको प्रयोग सीमित छ । बीमा प्रक्रियालाई सरल, पारदर्शी तथा प्रभावकारी बनाउन प्रविधिको उपयोग आवश्यक छ ।

दाबी प्रक्रियामा जटिलताः बीमित व्यक्तिले क्षतिपूर्ति प्राप्त गर्न लामो तथा जटिल प्रक्रिया पार गर्नुपर्ने हुन्छ । यसले बीमाको विश्वसनीयता घटाउने तथा ग्राहकको विश्वास कम गर्ने सम्भावना रहन्छ ।

सुशासनको चुनौतीः बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा, पुँजीको अभाव तथा नियमनकारी निकायको प्रभावकारिता अभिवृद्धि गर्ने क्षेत्रमा अझै सुधार गर्नुपर्ने देखिन्छ ।

दक्ष जनशक्तिको अभावः हामीसँग बीमासम्बन्धी एक्सपर्ट प्रोफेसनल सीप भएका व्यक्तिको सङख्या निकै कम छ । बीमामा विविध खालका प्राविधिक र दक्ष जनशक्तिको आवश्यकता पर्दछ । त्यसको उत्पादन र व्यवस्थापन गर्नु पनि यस क्षेत्रको चुनौती हो ।

अन्तर्राष्ट्रिय अभ्यासको कमीः बीमाको अन्तर्राष्ट्रिय अभ्यासअनुसार हाम्रोमा पर्याप्त भएको छैन । विकसित देशहरूको अभ्यासको तहमा पुग्न कोसिस जारी छ तर हामीले त्यसअनुसार गर्न सकेको अवस्था छैन ।

युवा पलायनः युवा पलायन पनि बीमा क्षेत्रका लागि ठूलो समस्या हो । जुन बीमा गर्ने वर्ग हो, त्यो नै विदेश पलायन भइरहेको छ । उत्पादनशील युवा विदेश जाँदा असर बीमा क्षेत्रलाई परेको छ । युवा पलायन रोक्नु पनि अर्को चुनौती हो ।

नियमनः बीमा प्राधिकरणले नियमनको काम गरिरहेको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार नियमनको भूमिका निर्वाह गरिरहे पनि यसका मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने अर्को चुनौती हो । बीमित हित संरक्षण गर्ने, बीमाको प्रचारप्रसार गर्ने र सरकारलाई सल्लाह दिने दायित्व पनि प्राधिकरणको हो । त्यसैगरी बीमासम्बन्धी दाबीको न्याय निरुपण गर्ने दायित्व पनि प्राधिकरणको छ ।

भूमिकाका हिसावले दायित्व धेरै भए पनि सीमित स्रोत र साधनले चाहेअनुरुप नियमन प्रभावकारी हुन सकेको छैन । आगामी दिनमा डिजिटल प्रणालीको विकास गरी यसलाई कागजरहित बनाउने अभियानमा प्राधिकरण निरन्तर लागि परेको छ ।

डिजिटाइजेसनः बीमामा सम्पूर्ण कारोबार डिजिटल हुन सकेको छैन् । अहिले धेरै मात्रामा प्रविधिको प्रयोग हुन थाले पनि सबै कारोबार र प्रक्रिया यसबाट सम्भव छैन । यसलाई अझै व्यवस्थित बनाउन संरचनाहरूको निर्माण र व्यवस्थापन गर्नुपर्नेछ । आर्टिफिसियल इन्टिेलिजेन्सको प्रयोगका लागि आवश्यक जनशक्ति र पूर्वाधारको विकास गर्नुपर्नेछ ।

अन्त्यमा
बीमा आर्थिक समृद्धितर्फ उन्मुख गराउने एक महत्वपूर्ण उपकरण हो । जसले व्यक्तिगत, पारिवारिक तथा राष्ट्रिय आर्थिक स्थायित्वको आधारशीला निर्माण गर्छ । बीमाको प्रभावकारिता केबल व्यक्तिगत सुरक्षामा सीमित नभई सामाजिक एवं आर्थिक प्रणालीलाई सुदृढ बनाउने कारकको रूपमा स्थापित छ । यसले अनिश्चितता न्यूनीकरण गर्दै दीर्घकालीन आर्थिक सुरक्षाको वातावरण सिर्जना गर्छ ।

त्यसैले बीमा क्षेत्रलाई अझ व्यवस्थित, पहुँचयुक्त तथा सर्वसुलभ बनाउन राज्य, बीमा व्यवसायी तथा नागरिक समाजको सामूहिक प्रयास अपरिहार्य छ । नीतिगत सुधार, प्रविधिको समुचित प्रयोग तथा जनचेतनाको अभिवृद्धि गरी बीमाको पहुँच समाजका सबै वर्गसम्म विस्तार गर्नुपर्छ ।

दीर्घकालीन आर्थिक स्थायित्व र समृद्धिको मार्ग सुनिश्चित गर्न बीमालाई आर्थिक योजनाको अभिन्न हिस्सा बनाउन आवश्यक छ । समुचित नियमन, नवाचार तथा समावेशी नीतिहरूको अवलम्बनले बीमा क्षेत्रलाई प्रभावकारी बनाउन सकिन्छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्