आईएमई लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य पुरस्कार



काठमाडौँ, १७ असार । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५ अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ।

काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त पुरस्कार ग्रहण गरे।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गौरवको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरित गरेको बताए। उनले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति र वित्तीय दायित्व पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए– माइनस’ क्रेडिट रेटिङ पनि प्राप्त गरेको जनाएको छ।

हाल आईएमई लाइफले देशभर १६० शाखा तथा उपशाखा र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले सुदृढ संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सेवा विस्तार गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्