बीमा दाबी भुक्तानीमा समस्या भए प्रमाणसहित उजुरी दिन प्राधिकरणको आग्रह



काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीका क्रममा कुनै समस्या, अनियमितता वा अन्याय भएको भए प्रमाणसहित उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेको छ।

बीमा दाबी भुक्तानी तथा दायित्व निर्धारणका क्रममा केही बीमा कम्पनी, तिनका कर्मचारी र बीमा सर्भेयरले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत काम गरेको सम्बन्धमा विभिन्न गुनासा प्राप्त भएपछि प्राधिकरणले सोमबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

प्राधिकरणले कुनै बीमक, कर्मचारी, बीमा सर्भेयर वा अन्य पक्षले सेवाग्राहीलाई दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा कानुनविपरीत अन्य कुनै कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिविरुद्ध बीमा ऐन २०७९ अनुसार कारबाही हुने जनाएको छ।

यस्ता घटनाका सम्बन्धमा प्रमाणसहित उजुरी पेश गर्न प्राधिकरणले सबै सरोकारवालालाई आह्वान गरेको छ।

सूचनाअनुसार उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा त्यससँग सम्बन्धित कागजात, फोटो, भिडियो वा अन्य प्रमाणसमेत संलग्न गर्नुपर्नेछ।

प्राधिकरणले उजुरी दर्ताका लागि विभिन्न माध्यम उपलब्ध गराएको छ। उजुरीकर्ता स्वयं उपस्थित भएर प्राधिकरणको दर्ता शाखामा उजुरी दर्ता गर्न सक्नेछन्। साथै [email protected][email protected] मा इमेलमार्फत वा नेपाल बीमा प्राधिकरण, केन्द्रीय कार्यालय, ललितपुर महानगरपालिका–१०, कुपण्डोल, ललितपुर ठेगानामा हुलाकमार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणले प्राप्त हुने उजुरी तथा प्रमाणहरूको गोपनीयता कायम राखिने जनाएको छ। बीमा ऐन २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले उल्लेख गरेको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्