नेपाल लाइफलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि स्वर्ण पुरस्कार



काठमाडौँ, १७ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५ अन्तर्गत स्वर्ण (गोल्ड) पुरस्कार प्राप्त गरेको छ।

काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा उक्त पुरस्कार ग्रहण गरे।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारी थपिएको बताए। उनले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ भने दुई खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन भइरहेको छ। हालसम्म कम्पनीले एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ।

नेपाल लाइफले नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाइसकेको जनाएको छ। साथै, वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति र वित्तीय दायित्व पूरा गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस (AA–)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको कम्पनीले जनाएको छ।

हाल नेपाल लाइफले देशभरका ७७ वटै जिल्लामा १९७ कार्यालय६५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले वित्तीय पारदर्शिता, सुशासन र ग्राहकप्रतिको उच्च प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाली नागरिकको आर्थिक सुरक्षाका लागि सेवा विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्