सूचना प्रविधि : नेपालको समृद्धि यात्राको सम्भावित मार्ग
मनोहरकुमार भट्टराई
सूचना प्रविधि विज्ञ
नेपालमा सूचना प्रविधि (IT) को प्रयोग र विकास पछिल्लो दशकमा तीव्र गतिमा अघि बढिरहेको छ । यद्यपि भौगोलिक असमानता, पूर्वाधारको अभाव, नीतिगत अस्पष्टता र जनशक्ति अभावले यस क्षेत्रको सम्भावनाअनुसारको विकास अझै हुन सकिरहेको छैन । त्यही पनि सकारात्मक सङ्केतहरू प्रशस्त छन्, जसले नेपाललाई ‘डिजिटल अर्थतन्त्र’ तर्फ लैजान सक्ने आधार तयार गर्दैछन् ।
नेपालमा सूचना प्रविधिको विकासका चरणहरू
नेपालमा सूचना प्रविधिको प्रयोग सन् १९७१ मा कम्प्युटरको प्रयोग गरेसँगै भएको मानिन्छ । अन्य देशभन्दा नेपालमा यसको विकास ढिलो भए पनि पछिल्लो दुई दशकमा यसले उल्लेखनीय फड्को मारेको छ । सूचना प्रविधिको विकासलाई चार चरणमा विभाजन गर्न सकिन्छः
प्रारम्भिक चरण (सन् १९७०–१९८९): कम्प्युटर प्रवेशको युग
नेपालमा पहिलोपटक कम्प्युटर सन् १९७१ मा प्रवेश गरेको हो IBM १४०१ (नेपाल राष्ट्र बैंकको लागि) । त्यस्तै १९७१ मै राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनका लागि कम्प्युुटर प्रयोग भएको पाइन्छ । त्यसबेला कम्पयुटरको प्रयोग मुख्यतः बैंकिङ र सरकारी तथ्याङ्क प्रशोधनमा सीमित थियो । कम्प्युटर प्रयोग सरकारी संस्थानहरूमा सीमित थियो । निजी क्षेत्रमा थिएन । यसको प्रयोग डाटा प्रोसेसिङ, अकाउन्टिङ, बेसिक रिपोर्टिङका लागि गर्ने गरिन्थ्यो ।
विकास र विस्तारको चरण (१९९०–२०००): इन्टरनेटको आगमन
१९९३ मा नेपाल टेलिकमले पहिलोपटक ई–मेल सेवा सुरु ग¥यो । १९९५ मा पहिलोपटक इन्टरनेट सेवा आयो । नेपालमा पहिलोपटक मर्कन्टाइल कम्युनिकेसनले इन्टरनेट सञ्चालन गर्ने अनुमति पाएको थियो ।
यही अवधिमा निजी कम्प्युटर प्रयोग र इन्फरमेसन टेक्नोलोजी कलेजहरू सञ्चालनमा आउन थाले । विश्वविद्यालयहरूले यसको पाठ्यक्रम निर्माण गर्न थालेको पाइन्छ । योसँगै सूचना प्रविधिमा नयाँ फड्को मार्न सहज भयो । कम्युटर र इन्टरनेटको प्रयोग बढेसँगै सरकारले सूचना प्रविधि नीतिको मस्यौदा २००० मा सुरु ग¥यो । यसमा मैले पनि आईटी विज्ञका रुपमा सुझाव दिने अवसर पाएको थिएँ ।
संस्थागत विकास र नीति निर्माण (२०००–२०१५)
पहिलोपटक सूचना प्रविधि नीति २००० (IT Policy 2000) ल्याइयो । २००१ मा सञ्चार मन्त्रालयलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय बनाइयो । निजी क्षेत्रबाट सफ्टवेयर विकास र आउटसोर्सिङ कम्पनीहरू खुल्न थाले । आईटी पार्कको योजना अगाडि सारियो । राष्ट्रिय डाटा सेन्टर स्थापना सुरु गरियो ।
त्यस्तै यो अवधिमा निजी कलेजहरूले विदेशी विश्वविद्यालयसँग मिलेर सूचना प्रविधिका स्नातक र स्नातकोत्तरका कक्षा सञ्चालन गर्न थाले । टेलिसेन्टर, कम्प्युटर शिक्षा ग्रामीण तहसम्म विस्तार हुन थाल्यो । मोबाइलको आगमन यही समयमा भयो । यसले मानिसलाई संसारसँग जोड्न मद्दत ग¥यो ।
डिजिटल युग र सूचना प्रविधि सेवाको विस्तार (२०१५–हाल)
अहिले स्मार्टफोन, मोबाइल डाटा, सोसल मिडिया, मोबाइल एप्सको द्रुत विस्तार भएको छ । यसले फ्रिलान्सिङ र रिमोट वर्क संस्कृतिको उदय भयो । डिजिटल बैंकिङ, डिजिटल वालेट, ई–गभर्नेन्सको विस्तार भयो । अनलाइन शिक्षाको विकास भयो ।
सरकारले सन् २०१९ मा डिजिटल नेपाल फ्रेमवर्क सुरु गरेको छ । यसले सरकारी सेवा पनि डिजिटलाइज्ड हुने क्रममा छ । धेरै कार्यालयहरूको काम अब घरमै बसेर हुने अवस्था आएको छ । सरकारले नागरिक एप्स, ट्याक्स पेयर एप्सजस्ता एप्लिकेसन निर्माण गरेको छ । बैङ्क तथा वित्तीय संस्था र निजी क्षेत्रले प्रायःजसो सेवाहरू डिजिटल बनाइसकेका छन् ।
नेपालको सन्दर्भमा सूचना प्रविधि
नेपालको सामाजिक संरचना हेर्दा, युवाशक्ति यसको सबैभन्दा ठूलो सम्पत्ति हो । विडम्बना, यही युवाशक्ति रोजगारी र अवसरको खोजीमा विदेश पलायन भइरहेको छ । लाखौं नेपाली युवा खाडी मुलुकदेखि कोरियासम्म पसिना बगाइरहेका छन् ।
यो प्रवृत्ति केबल श्रम पलायनमात्र होइन, आत्मनिर्भरता गुमाउँदै गएको अर्थतन्त्रको सूचक हो । जबसम्म हामी आफ्नै भूमिमा जीवन निर्माण गर्न सक्ने सक्षम संरचना तयार गर्न सक्दैनौं, समृद्धिको सपना अधुरै रहन्छ ।
त्यसैले अब विकासको मोडलमा पुनर्विचार गर्ने समय आएको छ । हामी कुन बाटोबाट समृद्धिमा जाने त्यो निर्णय गरेर त्यसअनुसार नीति निर्माण र लगानी गर्ने समय आएको छ । हामीले पारम्परिक उत्पादनमूलक मार्ग समाउने कि सेवामूलक नवप्रविधिको उच्चगतिको राजमार्गलाई आत्मसाथ गर्ने टुङ्गोमा पुग्नु पर्ने बेला भएको छ ।
उत्पादनमूलक क्षेत्र : नेपालजस्तो भूपरिवेष्ठित, साना बजार र आधारभूत पूर्वाधार अभाव भएको देशका लागि चीन वा भारतजस्ता मुलुकसँग प्रतिस्पर्धा गर्नु सजिलो छैन । इम्पोर्ट सब्स्टिट्युसन र केही हदसम्म आत्मनिर्भरता हासिल गर्न म्यानुफ्याक्चरिङको भूमिका छ तर यो समृद्धिको इन्जिन बन्न सक्ने सम्भावना कम देखिन्छ ।
सेवामूलक क्षेत्र : नेपालको वास्तविक Comparative Advantage भनेको अंग्रेजी साक्षर, डिजिटलमैत्री, युवाको बाहुल्यता रहेको अनुकूल जनशक्ति हो । सूचना प्रविधि क्षेत्रमा युवा सजिलै समाहित हुनसक्ने छन् । यसको दीर्घकालीन आर्थिकवृद्धि उच्च हुन्छ । रोजगारी सिर्जना तीव्र र निर्यात क्षमता बलियो हुन्छ ।
यी सबै तथ्यलाई हेर्दा नेपालको अहिलेको उत्पादनशील जनशक्तिलाई सूचना प्रविधिको ज्ञान, सीप र क्षमताको विकास गरी सूचना प्रविधि निर्यातका लागि कार्य गर्नु आवश्यक छ ।
सूचना प्रविधिमार्फत समृद्धि
प्रतिस्पर्धी जनशक्ति विकासः सूचना प्रविधिको मुख्य ‘कच्चा पदार्थ’ हो, समयानुकूल प्राविधिक गतिशीलतासहितको प्रतिस्पर्धी जनशक्तिको पर्याप्त उपलब्धता । तर त्यो जनशक्ति केबल सङ्ख्यात्मकमात्र हुनु हुँदैन, गुणस्तरीय पनि हुनुपर्छ ।
आजको डिजिटल युगमा AI, Cloud, Cybersecurity, Blockchain, DevOps, Data Science आदि क्षेत्रमा Demand–Driven, Short–term, Modular जस्ता तालिम आवश्यक छन् ।
नेपालको शिक्षा प्रणाली अझै शैक्षिक डिग्री केन्द्रित छ, रोजगारी केन्द्रित होइन । त्यसैले एआई युगअनुकूल लचिलो, व्यावहारिक र उद्योगमैत्री शैक्षिक ढाँचा विकास अपरिहार्य छ ।
डिजिटल पूर्वाधारमा लगानीः सूचना प्रविधि क्षेत्रको फड्कोका लागि डाटा सेन्टर, क्लाउड सेवा, उच्चगतिको फाइबर नेटवर्क, ५जी इन्टरनेटको विस्तार, Rural Broadband जस्ता पूर्वाधारमा अनिवार्य लगानी गर्नुपर्दछ । हाल ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच र गुणस्तर दयनीय छ । डिजिटल डिभाइड हटाउन विशेष नीति, लगानी र सार्वजनिक–निजी सहकार्य आवश्यक छ ।
नीतिगत स्पष्टता र अनुकूल वातावरणः नेपालबाट आज पनि करिब ५०० मिलियन डलर बराबरको सूचना प्रविधि सेवाको अनौपचारिक रूपमा निर्यात भइरहेको केही अध्ययनहरूको तथ्याङ्कले देखाएको छ ।
विदेशी ग्राहकबाट भुक्तानी ल्याउने, कम्पनी रजिस्ट्रेसन गर्ने, आईपी सुरक्षा सुनिश्चित गर्नेजस्ता कुरामा अस्पष्टता र कठिनाइ छ । यो रकम भित्र्याउन फ्रिलान्सिङबाट सुरुआत राम्रो हो । तर दीर्घकालीन लक्ष्य हासिल गर्न यसलाई व्यवसायीकरण र टेक कम्पनीको विकास हुनुपर्छ ।
‘Ease doing digital business या ज्ञानमा आधारित उद्यमशीलता विकासको साँचो मर्म बुझेर सरकार, नीति निर्माताले नीति निर्माण गर्नुपर्छ । जहाँ स्टार्टअप खोल्न, लगानी भित्र्याउन र देशमा भएका सूचना प्रविधिका दक्ष जनशक्तिलाई राख्न सहज होस् ।
नवप्रविधिहरूको अवलम्बन ः एआईको प्रयोगमा नेपाल ढिलो भइरहेको छ । शिक्षा, कृषि, स्वास्थ्य, सार्वजनिक सेवाजस्ता क्षेत्रमा यसको उपयोग अपार छ ।
त्यस्तै, ५जी केबल इन्टरनेट स्पीडमात्र होइन । एआई प्रविधि र अत्याधुनिक सेवाका लागि आधार हो । नेपालको आर्थिक पूर्वाधारमा यो आधारभूत संरचना बन्न सक्छ । यसका लागि आवश्यक रणनीति, लगानी र स्पष्टता ल्याउनु पर्दछ ।
सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न
सूचना प्रविधि विशेष नीति र रोडम्यापको आवश्यकः एआई नीति, क्लाउड नीति, स्टार्टअप नीति, डाटा संरक्षण ऐनजस्ता स्पष्ट र कार्यान्वयनमुखी दस्तावेजहरू बनाइनुपर्छ ।
स्टार्टअपमैत्री वातावरणः कम्पनी दर्ता, विदेशी लगानी, अन्तर्राष्ट्रिय भुक्तानी ल्याउन सहज बनाउने सुधारहरू ल्याउनुपर्छ ।
डिजिटल पूर्वाधारमा सार्वजनिक–निजी साझेदारीः डेटा सेन्टर, फाइबर नेटवर्क, क्लाउड सेवा निर्माणमा सरकार र निजी क्षेत्रले मिलेर लगानी गर्नुपर्छ ।
आईटी र एआईका लागि अनुसन्धान केन्द्र स्थापनाः विश्वविद्यालय, निजी कम्पनी र सरकारको सहकार्यमा अनुसन्धान केन्द्रहरू निर्माण आवश्यक छ ।
५जीको रणनीतिक दृष्टिकोणः केबल प्रविधि नभएर, यसको उपयोगको स्पष्ट खाका Smart Agriculture, e–Health, Smart Cities मा प्रयोगका लागि रणनीतिक विकास आवश्यक छ ।
अन्त्यमा,
सूचना प्रविधि नेपालको समृद्धिको यात्रामा एउटा ठूलो अवसर हो यसले देशको आर्थिक ढाँचा रूपान्तरण गर्न सक्ने क्षमता राख्छ । तर यसको सदुपयोग तब सम्भव छ, जबः
– हाम्रो युवाशक्तिलाई प्रतिस्पर्धी बनाइन्छ । उनीहरूको क्षमता र दक्षता वृद्धिमा जोड दिइन्छ ।
– सशक्त पूर्वाधार निर्माण गरिन्छ ।
– नीतिहरू स्पष्ट, लचिलो, निजीक्षेत्र र नवप्रर्वतनमैत्री हुन्छ ।
– र एआई तथा उदीयमान प्रविधिहरूलाई अग्रिम प्राथमिकता दिइन्छ ।
यी पूर्वशर्तहरू पूरा गरियो भने, युवाले रोजगारीका लागि विदेश जानु पर्दैन, बरु विदेशका कम्पनीहरूले नेपाली दक्ष जनशक्ति खोज्दै नेपाल नै आउँछन् । र, नेपालले सूचना प्रविधिको माध्यमबाट समृद्धिको नयाँ युग सुरु गर्न सक्छ ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार







