विपद् पूर्वसूचना प्रवाहमा नेपाल टेलिकम र मौसम विभागबीच सम्झौता
काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दुवै पक्षले विगतदेखि नै एसएमएसमार्फत पूर्वसूचना सेवा सञ्चालन हुँदै आएको उल्लेख गर्दै आवश्यक सहयोग र समन्वयका लागि एकअर्काप्रति आभार व्यक्त गरेका छन्। भविष्यमा पनि सेवा थप प्रभावकारी हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोडमार्फत जल तथा मौसमजन्य विपद्को पूर्वसूचना एसएमएसबाट पठाइनेछ। यस अन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, तातो हावाको लहर, शितलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता जोखिमबारे सूचना प्रवाह गरिनेछ।
जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानका एसएमएस पोलिगन, नक्सा र आवश्यक प्राविधिक विवरण नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। कोशी, बागमती, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई र बबईलगायत नदी प्रणालीका जोखिम क्षेत्र यसमा समेटिएका छन्।
नेपाल टेलिकमले यो सेवा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। यसका लागि कम्पनीले विभागलाई थप १०० सहित कुल ८०० डाटा सुविधासहितका सिमकार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागले २०७३ सालदेखि नै मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना सेवा सञ्चालन गर्दै आएका छन्। कम्पनीले यस सेवाबाट लाखौँ नागरिक लाभान्वित भएको र आगामी दिनमा पनि लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
Provide your feedback on BizChat
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










