युक्रेन युद्धमा चीन–पाकिस्तानसहित धेरै देशका ‘भाडाका सैनिक’ संलग्न रहेको जेलेन्स्कीको दाबी



किभ । चीन र पाकिस्तान सहित धेरै देशका ‘भाडाका सैनिकहरू’ रुस–युक्रेन युद्धमा संलग्न रहेको दाबी युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गरेका छन् ।

जेलेन्स्कीले युक्रेनी सैनिकहरूसँगको तस्बिरहरू सेयर गर्दै माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट लेखेका थिए । सोमबार आफू भोभ्चान्स्क क्षेत्रमा सैनिकहरूबिच उपस्थित भएको अनि त्यहाँ आफूले मोर्चाको अवस्थाको बारेमा कमाण्डरहरूबाट जानकारी लिएको पोस्टमा उनले बताएका थिए ।

उनले लेखेका छन्, ‘भोभ्चान्स्क क्षेत्रमा हाम्रा योद्धाहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकहरूको संलग्नताको रिपोर्ट गरिरहेका छन् । हामी यसको जवाफ दिनेछौँ ।’

यस अघि पनि बारम्बार युक्रेनमा रुसी सेनालाई मद्दत गर्न उत्तर कोरियाली सैनिकहरू तैनाथ गरिएको दाबीसहितका समाचारहरू आएका थिए ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्