ट्रम्पले लगाए भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
पहिले लगाएको २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क)मा थप २५ प्रतिशत थपिएर कुल ५० प्रतिशत पुगेको हो ।
बुधबार जारी गरिएको ह्वाइट हाउसको आदेशमा भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको छ । यही आधारमा अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो ।
रुस युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण ह्वात्तै बढेको थियो । सन् २०१८ सम्म रुसबाट भारत आयात हुने कच्चा तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो तर सन् २०२५ मा यो परिमाण ३५ प्रतिशत पुगेको थियो ।
थप ट्यारिफ लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान महँगो हुनेछ । अमेरिकाको यस निर्णयलाई भारतले अनुचित भनेको छ ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार
















