दक्षिण कोरियामा सेनाको सङ्ख्या २० प्रतिशतले घट्यो



सोल । दक्षिण कोरियाको सेनाको आकार घटेको छ । उक्त देशमा सेनाको सङ्ख्या घटेर ४ लाख ५० हजारमा खुम्चिएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

गएको ६ वर्षमा सेनाको सङ्ख्या २० प्रतिशत हाराहारीले घटेको छ। सेनाको आकार घट्नुको मुख्य कारण त्यहाँको जन्मदरमा आएको कमी बताइएको छ ।

दक्षिण कोरियाको जन्मदर प्रतिमहिला शून्य दशमलव ७५ छ । यो विश्वमै सबैभन्दा कम हो । देश उत्तर कोरियासँग प्राविधिक रुपमा युद्धको अवस्थामा भएकोले दक्षिण कोरियाले हरेक नागरिकका लागि सैन्य सेवा अनिवार्य गरेको छ ।

उत्तर कोरियाबाट हुने आक्रमण रोक्न कम्तीमा पनि ५ लाख सेना आवश्यक पर्ने जुलाईमा दक्षिण कोरियाका अनुसन्धाताहरूले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो । उत्तर कोरियासँग १३ लाख सक्रिय सेना छन् ।

सन् २००६ यता दक्षिण कोरियाको सेनाको गणको सङ्ख्या ५९ बाट घटेर ४२ मा आएको रक्षा मन्त्रालयको आइतबारको प्रतिवेदनले देखाएको थियो ।

सेनाको सङ्ख्या कम भएपछि गण कि खारेज भएका छन् कि अर्कोमा गाभिएका छन् । कोरियाली प्रायद्वीपमा तनाव बढेपछि दक्षिण कोरियाले रक्षा बजेट बढाउँदै लगेको छ ।

सन् २०२५ मा उसको रक्षा बजेट ६०० खर्ब वन (४३ अर्ब डलर)छ । यो उत्तर कोरियाको जीडीपीको भन्दा धेरै हो ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्