यी तीन प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ ५ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको छ ।
जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रहेको देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार












