सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन



काठमाडौँ, २१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको आयोजनाको अपेक्षित प्रगति हुन नसकेको भन्दै स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेका हुन्। उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने बताएका छन्।

सिक्टा सिँचाइ आयोजनाले बाँकेको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। आयोजनाअन्तर्गत पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर तथा पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको छ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाका कर्मचारी र लाभग्राही किसानसँग छलफल गर्दै निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे जानकारी लिएका थिए। उनले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यमा ढिलाइ हुन नदिन निर्देशन दिएका छन्।

राष्ट्रिय गौरवका आयोजनामा देखिने कानुनी तथा प्रशासनिक जटिलता समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने बताएका छन्।

उनले सिक्टा सिँचाइ आयोजना पूर्वाधार निर्माणमा मात्र सीमित नरही बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आयआर्जन वृद्धि गर्ने दीर्घकालीन आधार बन्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय किसानसँगको छलफलमा उनले रोपाइँको अवस्था, सिँचाइ सुविधा र किसानका समस्या तथा सुझावबारे पनि जानकारी लिएका थिए।

आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत सिक्टा सिँचाइ आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार कुल अनुमानित लागत करिब रु ५२ अर्ब ८९ करोड रहेको छ। आयोजना तीन चरणमा सम्पन्न गर्ने योजना रहेकामा हाल दोस्रो चरणको काम जारी छ। आयोजना आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हालसम्म आयोजनाको ५०.५० प्रतिशत भौतिक४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। यस अवधिसम्म करिब रु २४ अर्ब आठ करोड खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्