भारी वर्षापछि बीपी राजमार्ग अवरुद्ध, सवारी सञ्चालन रोकियो



बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा आइतबार दिउँसो परेको भारी वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ।

रोसी खोलाको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा बाढी आएपछि पुनर्निर्माण भइरहेको बीपी राजमार्गका डाइभर्सन सडक बगाएको हो। त्यसपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रहरीका अनुसार रोसी खोलामा थप बाढी आउन सक्ने सम्भावना रहेकाले यात्रु र सवारी साधनको सुरक्षालाई ध्यानमा राखी यातायात अस्थायी रूपमा रोकिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बाढीले चौकीडाँडा र कटुञ्जे क्षेत्रमा निर्माण गरिएका डाइभर्सन सडकमा क्षति पुर्‍याएको छ। राजमार्ग अवरुद्ध भएपछि उक्त मार्ग प्रयोग गर्ने सवारी साधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटार क्षेत्रमा रोकिएको छ।

वि.सं. २०८१ असोज दोस्रो साता आएको विनाशकारी बाढीले पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको थियो। हाल काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा राजमार्ग पुनर्निर्माणको काम जारी रहेको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्