कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्न निर्देशन



विराटनगर, २१ असार । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएकी छन्।

आइतबार विराटनगरस्थित कोशी अस्पतालको निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पताल परिसरमा सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन्।

अस्पताल प्रशासनसँग भएको छलफलमा उनले आँखा अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारको योजना शीघ्र कार्यान्वयन गर्न आग्रह गरिन्।

अनुगमनका क्रममा मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन भवनको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिइन्। उनले अस्पतालको सेवा थप प्रभावकारी बनाउन सरसफाइमा विशेष ध्यान दिन, निर्माण तथा मर्मतसम्भारका काम समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापन व्यवस्थित गर्न र प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिइन्।

मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अनधिकृत संरचना हटाउन मन्त्रालयले एक महिनाअघि दिएको निर्देशन तत्काल कार्यान्वयन गर्न पनि अस्पताल प्रशासनलाई सचेत गराइन्। अस्पताललाई व्यवस्थित, सुरक्षित र सेवामैत्री बनाउँदै नागरिकको स्वास्थ्य सेवाप्रतिको पहुँच र विश्वास बढाउनुपर्नेमा उनले जोड दिइन्।

कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्रभाल झाले हाल अस्पतालमा आँखा उपचार सेवा सञ्चालनमा रहेको जानकारी दिँदै जनशक्ति र छुट्टै भवनको अभाव हुँदाहुँदै पनि प्रत्येक महिना करिब १५ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया भइरहेको बताए।

उनले विशिष्टीकृत आँखा अस्पताल स्थापना भएपछि उपचार सेवाको दायरा विस्तार हुने र कोशी प्रदेशभरका सेवाग्राहीले गुणस्तरीय आँखा उपचार सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे।

अनुगमनमा मोरङ क्षेत्र नं. ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्य, स्वास्थ्य मन्त्रालयका अधिकारी तथा कोशी अस्पतालका पदाधिकारीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्