आक्रमणमा परेपछि दिल्लीकी मुख्यमन्त्री रेखालाई दिइयो जेड श्रेणीको सुरक्षा



नयाँ दिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई जेड श्रेणीको सुरक्षा प्रदान गरिएको छ । स्रोतका अनुसार केन्द्र सरकारले दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई जेड श्रेणीको सीआरपीएफ सुरक्षा प्रदान गरेको हो ।

बुधबार दिल्लीमा साप्ताहिक सार्वजनिक सुनुवाइको क्रममा गुप्तामाथि आक्रमण भएको थियो । सो आरोपमा पक्राउ परेका अभियुक्त राजेश खिमजीलाई पाँच दिनको प्रहरी हिरासतमा पठाइएको छ । अभियुक्त राजेशलाई दिल्ली प्रहरीले अबेर राति दक्षिण–पश्चिम दिल्लीको द्वारकास्थित मजिस्ट्रेटको घरमा पेस गरेको थियो । स्रोतहरूले बताएअनुसार आरोपीलाई तीस हजारी अदालत परिसरमा कुनै पनि मजिस्ट्रेटको अगाडि पेस गरिएको थिएन ।

बुधबार बिहान दिल्लीकी मुख्यमन्त्रीको सरकारी निवासमा साप्ताहिक सार्वजनिक सुनुवाइको आरोपीले मुख्यमन्त्रीलाई केही कागजात दिएपछि उनी चिच्याउन थालेका थिए । पछि उनले मुख्यमन्त्रीको हात र कपाल समातेर धक्कामुक्की गर्न थाले ।

आरोपितले मुख्यमन्त्रीलाई थप्पड हानेको दाबी प्रत्यक्षदर्शीहरूले गरेका छन् । यद्यपि, प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले थप्पड हानेको अस्वीकार गरेका छन् । आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । त्यहाँ उपस्थित मानिसहरूले उनलाई कुटपिट गरेमन थिए । यस्तै मुख्यमन्त्रीको सुरक्षामा लापरबाही भएको खबर पाउने बित्तिकै दिल्ली प्रहरी विभागमा हङ्गामा मच्चिएको थियो ।

संयुक्त प्रहरी आयुक्त मधुर वर्मा र प्रहरी उपायुक्त राजा बांठिया लगत्तै घटनास्थलमा पुगेका थिए । यस्तै मुख्यमन्त्रीलाई तुरुन्तै नजिकैको अस्पताल लगियो । यस्तै आरोपीलाई तुरुन्तै पक्राउ गरी सिभिल लाइन्स प्रहरी चौकीमा लगिएको थियो । आरोपीको उमेर ४१ वर्ष रहेको बताइएको छ ।

यसैबीच आरोपीकी आमा भानुबेनले आफ्नो छोरा कुकुर प्रेमी भएको दाबी गरेकी छिन् । उनको मानसिक अवस्था राम्रो नभएको बताइएको छ ।

प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्