१५औँ भारत-जापान शिखर सम्मेलनका लागि जापानमा मोदी, लगत्तै चीन जाने



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । मोदीले १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागि हुनेछन् ।

जहाँ सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनपछि मोदी र जापानी प्रधानमन्त्री फुमिओ इशिबा बिच डिनर कार्यक्रम पनि हुनेछ।

मोदीको जापान भ्रमणका प्रमुख एजेन्डामा १०० भन्दा बढी समझदारी पत्रमा हस्ताक्षर, आर्थिक सहयोगको नयाँ ढाँचा निर्माण, सेमीकन्डक्टर, कम्युनिकेशन, क्लीन एनर्जी र औषधि आपूर्ति सम्बन्धी सहकार्य र एआई सम्बन्धी नयाँ पहलको सुरुवात लगायत छन् ।

मोदी एक्समा लेखेका छन्- ‘टोकियोमा अवतरण भयो । भारत र जापानले आफ्नो विकासात्मक सहकार्यलाई सशक्त बनाउँदै लगेका बेला, यो भ्रमणका क्रममा प्रधानमन्त्री इसिबा र अन्यसँग संवाद गर्न पाउने आशा लिएको छु, जसले हालका साझेदारीहरूलाई अझ सुदृढ बनाउने र सहकार्यका नयाँ सम्भावनाहरूको खोजी गर्ने अवसर प्रदान गर्नेछ ।’

मोदी सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान गएका हुन् । उनी जापानबाट चीन जानेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदि चीन पुगे पनि जापानविरुद्ध चीनको ८०औँ विजयोत्सव समारोह (सैन्य परेड)मा भने सहभागी हुने छैनन् ।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्