रुसको कालो धन भारतले सेतो पारिरहेको छ : ट्रम्पका व्यापार सल्लाहकार
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले रुसी सरकारलाई तेल बेचेर कमाइ हुने कालो धन सेतो बनाउन सहयोग गरिरहेको आरोप लगाएका छन् ।
माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै नभारोले यो दाबी गरेका हुन् । भारतीय तेल कम्पनीहरूले रुसबाट सस्तो मूल्यमा तेल किनिरहेको अनि यसलाई प्रशोधन गरेर युरोप, अफ्रिका र एसियामा बेचिरहेको पनि उनले बताए ।
एकदिन अघि नभारोले युक्रेन युद्धलाई ‘मोदीको युद्ध’ भनेका थिए । ‘भारतले अब दैनिक १० लाख ब्यारेलभन्दा बढी रिफाइन्ड पेट्रोलियम निर्यात गर्नेछ, जुन रुसबाट आउने कच्चा तेलको कुल मात्राको आधाभन्दा बढी हो,’ नाभारोको दाबी थियो ।
‘यसबाट हुने आम्दानी भारतका राजनीतिक रूपमा जोडिएका ऊर्जा व्यवसायीहरूसम्म पुग्छ र सिधै पुटिनको युद्ध कोषमा पनि जान्छ,’ उनले भने ।
यदि भारत अमेरिकाको रणनीतिक साझेदार भएको फाइदा उठाउन चाहन्छ भने उसले पनि रणनीतिक साझेदारको रूपमा व्यवहार गर्नुपर्ने पनि उनले पोस्टमा लेखेका छन् ।
प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार
















