युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या
काठमाडौं । युक्रेनका पूर्व सभामुख आन्द्रिय पारुबियीको गोली हानी हत्या भएको छ । युक्रेनको पश्चिमी सहर ल्भिभमा उनको गोली हानी हत्या भएको हो ।
बीबीसीका अनुसार कोरियरको भेषमा आएको व्यक्तिले सडकमा हिँडिरहेका पारुबियीलाई पछ्याउँदै हातहतियार देखाएर गोली चलाएको देखिएको छ । आक्रमणकारीको प्रहरीले खोजी कार्य गरिरहेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणलाई भयानक हत्या भन्दै पारुबियीको परिवारप्रति संवेदना व्यक्त गरेका छन् ।
५४ वर्षीय पारुबियी युक्रेनको युरोमैदान आन्दोलनका अगुवामध्येका एक थिए । सो आन्दोलनले युरोपियन संघसँग निकट सम्बन्धको माग गर्दै २०१४ मा तत्कालीन रूस–समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गरेको थियो ।
प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार
















