भारतमाथि ट्यारिफ लगाउन युरोपेली देशलाई ह्वाइट हाउसको अनुरोध



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतसँग रुष्ट छन् । वाचाअनुसार ट्रम्पले रुस र युक्रेनको युद्ध रोक्न सकेका छैनन् । अब यो असफलताका लागि उनले भारतलाई दोष दिन थालेका छन् ।

भारतले रुसबाट ठुलो मात्रामा कच्चा तेल किनिरहेको छ, जसले युक्रेन युद्धलाई आर्थिक सहयोग गरिरहेको ट्रम्पको आरोप छ । यसलाई बहानाको रूपमा प्रयोग गर्दै ट्रम्पले भारतमा थप २५ प्रतिशत कर लगाउने निर्णय गरे । यद्यपि, उनको यो कदम पनि असफल भयो ।

यसले भारतमा धेरै प्रभाव पारेको देखिँदैन । यसबाट ट्रम्प अझ बढी रिसाएका देखिन्छन् । मिडिया रिपोर्टहरूका अनुसार, अब ट्रम्पले युरोपेली देशहरूलाई भारतमा कर लगाउन दबाब दिइरहेका छन् ।

ह्वाइट हाउसले युरोपेली देशहरूलाई रुसबाट कच्चा तेल किनेको मामिलामा भारतमाथि अमेरिका जस्तै प्रतिबन्ध लगाउन आग्रह गरेको छ, जसमा नयाँ दिल्लीबाट खरिद गरिएका सबै तेल र ग्यासमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने उल्लेख छ ।

युरोपेली नेताहरू पनि युक्रेनमा युद्ध अन्त्य गर्ने पक्षमा छन् । भारतले रुसी तेल किनिरहेको र त्यसबाट नाफा कमाएको दाबी अमेरिकाले गरे पनि धेरैजसो युरोपेली देशहरू यस विषयमा मौन छन् । ट्रम्पको ट्यारिफ नीतिको उनीहरूले खुला समर्थन वा विरोध गरेका छैनन् ।

यो कुराले पनि रुष्ट छन् ट्रम्प

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले मे ७ देखि १० सम्म भारत र पाकिस्तानबिचको द्वन्द्व रोक्न बारम्बार दाबी गरेका थिए । पाकिस्तानले ट्रम्पको दाबी स्वीकार त गर्‍यो नै उनलाई ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग पनि गर्‍यो ।

यस विषयमा भारतको अडान पूर्णतया फरक छ । भारत–पाकिस्तान द्वन्द्व रोक्न कुनै तेस्रो पक्षको भूमिका नभएको अनि महानिर्देशक स्तरको वार्तापछि दुवै देश युद्ध विराममा सहमत भएको भारतले बारम्बार भन्दै आएको छ । यस विषयमा ट्रम्प भारतसँग रिसाएको बताइएको छ ।

प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्