रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी



एजेन्सी । युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दाबी गरिएको छ ।

सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकहरूको सङ्ख्या कम्तीमा छ सय थियो’ भन्ने तथ्याङ्क प्रस्तुत गरेको थियो ।

तर ताजा मूल्याङ्कनअनुसार अब मृतकको सङ्ख्या करिब दुई हजार पुगेको अनुमान गरिएको सांसद ली सेओङ–क्वेनले जासुसी एजेन्सीबाट ब्रिफिङ पाएपछि पत्रकारहरूलाई बताए ।

दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूले उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको जनाएका छन् । ती सैनिकहरू मुख्यतया कुर्स्क क्षेत्रमा तैनाथ गरिएका थिए । त्यहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए ।

सांसद लीका अनुसार प्योङयाङले थप छ हजार सैनिक तथा इन्जिनियरहरू रुसमा पठाउने योजना बनाएको छ । तीमध्ये करिब एक हजार हालसालै आइपुगेको एनआइएसले विश्वास गरेको छ ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्