रुसी ड्रोन आक्रमणमा परेर मर्नेमा बालक पनि
किभ । गएको राति रुसले किभमा गरेको आक्रमणमा परेर कम्तीमा २ जनाको मृत्यु भएको छ । मर्नेमा कम्तीमा एक बालक पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बालकको उमेर एक वर्ष भएको बताइएको छ ।
उनको शवलाई भग्नावशेषबाट निकालिएको किभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले आइतबार बताए । मृत्यु हुनेमा अर्की एक जवान महिला भएको बताइएको छ । रुसी सेनाले मध्य युक्रेनमा रहेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगरलाई निशाना बनाइरहेका छन् ।
आक्रमणबाट तीन वटा पूर्वाधारमा पनि क्षति पुगेको बताइएको छ । देशका सबै क्षेत्रमा हवाई आक्रमणसम्बन्धी चेतावनी सक्रिय पारिएको थियो ।
युक्रेनलाई सहयोग नगर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई चेतावनी दिइरहेकै समयमा रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार
















