नाइजेरियामा बोको हरामको आक्रमणबाट ६० जनाको मृत्यु
काठमाडौं । आतंककारी संगठन बोको हरामले नाइजेरियाको उत्तरपूर्वी एक गाउँमा आक्रमण गर्दा ६० जनाको ज्यान गएको छ ।
उनीहरूले त्यहाँको दारुल जमाल नाम गरेको गाउँमा भीषण आक्रमण गरेका हुन् । नाइजेरिया–क्यामरुन सीमामा रहेको एक सैन्य अड्डामा पनि उनीहरुले आक्रमण गरेका छन् । जसमा कम्तीमा पाँच सैनिकको मृत्यु भएको छ ।
सरकारले सुरक्षाको आश्वासन दिएपछि हालसालै विस्थापित मानिसहरू शिविरबाट फर्केर आफ्नो घरमा बस्न थालेको बताइएको छ ।
नाइजेरियाली वायु सेनाका अनुसार आक्रमणको खबर पाएपछि गरिएको हवाई हमलामा ३० जना आतंककारी मारिएका छन् । बोर्नो राज्यका गभर्नर बाबागाना जुलुमले शनिबार साँझ आक्रमण भएको गाउँको भ्रमण गरी मृतकको संख्या ६० भन्दा बढी भएको पुष्टि गरेका हुन् ।
आतंककारीहरुले २० भन्दा बढी घर पनि जलाइदिएका छन् । आक्रमणपछि गाउलेहरु फेरि विस्थापित भएको जनाइएको छ ।
मुश्लिम आतंककारी समूह बोको हरामले हतियार उठाएको सन् २००९ यता करिब ३५ हजार मारिएका छन् । हालसम्म २० लाखभन्दा बढी मानिस घरबारविहीन भएको तथ्यांक छ ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार
















