चट्याङ लागेर चार वर्षीया छोरीको मृत्यु, आमाबाबु घाइते



गुल्मी, असोज ९ । गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर एक चार वर्षीया बालिकाको मृत्यु भएको छ भने उनका आमाबुवा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार, आज बिहान करिब २ बजे मदाने–५ मा चट्याङ पर्दा झ्यानपानीका नेरसिंह विककी छोरी रियासा विकको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङका कारण बालिकाका बुबा नेरसिंह विक र आमा सुन्तली विक पनि घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा चट्याङ पर्दा नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने सुन्तलीको पेट र दाहिने खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।

घाइते दम्पतीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्