मनसुनजन्य विपद्का लागि १० हजारभन्दा बढी प्रहरी तयारी अवस्थामा



काठमाडौँ, १९ असार नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ।

प्रहरी मुख्यालयदेखि प्रहरी चौकीस्तरसम्मका इकाईमा आवश्यक उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राखिएको नेपाल प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएसँगै नेपाल प्रहरीले पनि ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ लागू गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले बताए।

उनका अनुसार विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र उद्धार कार्यका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिएको छ।

काफ्लेले जोखिमयुक्त क्षेत्र तथा सुरक्षित स्थानको जिल्लागत पहिचान, उद्धार सामग्रीको मर्मतसम्भार तथा प्रहरी चौकीस्तरसम्म तत्काल परिचालन हुने व्यवस्था मिलाइएको बताए।

उनका अनुसार विपद्को अवस्थामा तत्काल परिचालनका लागि विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा उपकरणसहित तयारी अवस्थामा राखिएको छ।

नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरीलाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको जनाएको छ। आवश्यकताअनुसार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्मले तत्काल वा चरणबद्ध रूपमा जनशक्ति परिचालन गर्ने व्यवस्था गरिएको छ।

काफ्लेले मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायको सहभागितामा उद्धार अभ्यास सञ्चालन गरिएको र जनधनको क्षति न्यूनीकरणका लागि सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको बताए।

विपद् व्यवस्थापनमा प्रभावकारी कार्यसम्पादनका लागि प्रहरी कर्मचारीलाई उद्धारसम्बन्धी अनुशिक्षण प्रदान गरिएको उनले जानकारी दिए।

नेपाल प्रहरीका अनुसार प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र केनाइन कार्यालयका जनशक्तिलाई पनि तयारी अवस्थामा राखिएको छ।

प्रशिक्षण प्रदायक कार्यालय तथा विशिष्टीकृत इकाईका जनशक्ति परिचालन हुँदा आवश्यक उद्धार सामग्री नजिकको प्रहरी गण वा विपद् विशिष्टीकृत कार्यालयबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा आवश्यक सामग्री अपुग भए स्थानीय तह तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्