प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस



काठमाडौँ, १९ असार संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

हाल निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी रहेका छन्। भण्डारी अर्को साता ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने भएपछि परिषद्ले नयाँ नेतृत्वका लागि सिफारिस गरेको हो।

बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा तथा यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम पनि नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

परिषद्की सदस्य तथा प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गरिएको जानकारी दिइन्।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार साँझ संवैधानिक परिषद्को बैठक बोलाएका थिए। संवैधानिक व्यवस्थाअनुसार परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश तथा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने व्यवस्था छ। परिषद्बाट सिफारिस भएका नाम संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्