पर्यटन मन्त्रालयले पाँच निकायमा पदाधिकारी नियुक्त गर्यो
काठमाडौँ, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न निकायमा रिक्त रहेका पदमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ।
मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँच निकायका विभिन्न पदमा नियुक्ति गरिएको हो।
मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ। कोषका सदस्यमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बास्तोला र रामशोभित नायक नियुक्त भएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त भएका छन्। समितिका सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन्।
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन्। समितिका सदस्यमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त भएका छन्।
त्यसैगरी, पाटन दरबार सङ्ग्रहालय विकास समितिको सदस्यमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन नियुक्त भएका छन्।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












