रासायनिक मल कालोबजारी गरेको आरोपमा सहकारीका सचिव पक्राउ
गुल्मी, १९ असार । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव प्रेमनारायण पाण्डे रासायनिक मल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार किसानलाई बिक्रीका लागि ल्याइएको रासायनिक मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय रिडीले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा सहकारीका सचिव पाण्डेले बिक्रीका लागि ल्याइएको मल अनधिकृत रूपमा बढी मूल्यमा बिक्री–वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।
प्रहरीले ५० किलोग्रामका २९४ बोरा युरिया र १०६ बोरा डीएपी मल बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत पाण्डेविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












